Logo

राजीनामा होइन, महरालाई पक्राउ गर

समाचार टिप्पणी



काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महराले आफुमाथि लागेको बलात्कारको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा उल्टै पीडित महिलालाई कठपुतली जस्तो तल्लो स्तरको आरोप लगाएका छन् । सभामुख महराको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठा समाप्त पार्ने योजनावद्ध सड्यन्त्रको रुपमा कठपुतली प्रयोग गरिएको दावी गरिएको छ ।

हाम्राकुरा डटकममा सभामुख महराले संघीय संसद सचिवालयकी कर्मचारीलाई शनिवार बलात्कार गरेको समाचार सार्वजनिक भए लगत्तै महराले अनलाइन खबरलाई आफू गएको तर बलात्कार नगरेको प्रतिक्रिया दिएका थिए । तर, अनलाइन खबरलाई प्रतिक्रिया दिएको केही घण्टामै महराका सल्लाहकारले महिलाको आरोप पूर्णरुपले अस्वीकार गरेका छन् ।

महिलाले बताल्कृत भएको भनी प्रहरीमा गरेको मौखिक उजुरी, छरपस्ट भएको सामान, महराको भाँचिएको चस्मा, पीडित घाइते भएको अवस्था, पत्रकारले भिडियो रेकर्ड गर्दा गर्दै महराको फोन आएको सबै तथ्यलाई सभामुख महराले जतिनै अस्वीकार गरेपनि त्यो विश्वासनीय देखिँदैन ।

महराको बलात्कार घटना सार्वजनिक भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया आएका छन् । धेरैले पत्याउन नसकिने घटना, महरा जस्तो सालिन व्यक्तिबाट त्यस्तो काम हुनै सक्तैन, कसरी भयो ? यो सड्यन्त्र हुनु पर्छ, ती महिलाको महरासँग पहिलादेखिनै सम्बन्ध हुनु पर्छ, कुरो मिलुन्जेल सबै ठिक, कुरा मिल्न छाडेपछि वेठिक भन्ने जस्ता महराका बचाउमा प्रसस्त प्रतिक्रिया आएका छन् ।

सामाजिक सञ्जालमै कानुन भन्दा माथि कोही छैन, अपराध गर्ने जोसुकै भएपनि छाडिनु हुँदैन, सक्ति र सत्ताको भरमा पीडित महिलाले न्याय नपाउन सक्छिन्, महराले तत्काल राजीनामा दिएर निश्पक्ष छानविन गर्नुपर्छ, उनलाई तत्काल पक्राउ गरी हिरासतमा लिनु पर्छ जस्ता प्रतिक्रिया आएका छन् ।

केही गम्भीर प्रश्न उठेका छन् । कुनै महिलाले सामान्य मानिसलाई मलाई बलात्कार गर्यो भनेर तथ्य प्रमाण दिँदा के प्रहरीले पक्राउ गर्दैनथ्यो ? महरा उच्चपदमा भएकै आधारमा प्रहरीले पक्राउ गर्न नमिल्ने सुविदा कानुनले दिएको छ ? गृह प्रसाशन, प्रधानमन्त्री कार्यालय, नेकपा र त्यसका अध्यक्षद्वयले मुख खोल्नु पर्दैन ? महरा पछाडिका शक्ति र व्यक्तिले मौन बस्न मिल्छ ?

पीडित महिलाले सार्वजनिक रुपमै न्यायका लागि अपिल गरेकी छन्, के उनलाई न्याय दिनु पर्दैन ? एक महिलाले मलाई बलात्कार गर्यो भनेर प्रारम्भिक तथ्य प्रमाण दिँदा पनि त्यसप्रति मौन बस्न मिल्छ ? प्रहरीले तत्काल पीडित महिलाको मेडिकल जाँज गराउनु पर्दैन ? यतिधेरै तथ्य र प्रमाण हुँदा हुँदै महरा पक्राउ नपर्नु भनेको सानालाई ऐन, ठूलालाई चैन भन्ने भनाई चरितार्थ भएको होइन ? राजतन्त्र कालमा राजपरिवार र दरकारका आसेपासे कानुन भन्दा माथि थिए । उनीहरुले कुनै महिलालाई बलात्कार गरेपनि, हत्या गरेपनि कारबाही हुँदैनथ्यो ।

जनताले लडेर ल्याएको गणतन्त्रमा ठूलालाई एने नलाग्ने नै हो ? गणतन्त्रका लागि लड्ने मोर्चामा महराहरुलनै अग्रपंक्तिमा थिए । तर, के उनले गणतन्त्रका लागि लडेका थिए भनेर कुनै महिलालाई बलात्कार गर्ने जस्तो जघन्य अपराध गर्ने छुट दिन सकिन्छ ? नोपलको गणतन्त्र नेताका लागि मात्र हो ? यदि यस्तो हो भने, यो नक्कली गाणतन्त्र हो । यस्तो गणतन्त्रलाई जनताले लामो समय भरथेग गर्न सक्तैनन् ।

कानुनको शासन मान्ने हो, विधिका अघि नेता र जनता समान हुन् भन्ने हो भने महरालाई तत्काल पक्राउ गरी प्रहरीले अनुसन्धान किन नगर्ने ? महरालाई उन्मुक्ति दिन राजीनामा माग्ने होइन, उनलाई तत्काल पक्राउ गरी अनुसन्धान गरिनु पर्छ ।

नेपालमा गणतन्त्रको नारा सबैभन्दा बढी कम्युनिष्टले लगाएका हुन् । त्यसबेला गणतन्त्रमा सबैलाई समान हुन्छ भन्ने नारा लगाएको होइन ? नेकपाको सरकार, पार्टी र नेतृत्वले गणतन्त्रमा कसैलाई विभेद हुँदैन भन्ने प्रमाणित गर्ने समय यही हो । यदि महराले कानुनी उन्मुक्ति पाएभने यो नक्कली गणतन्त्र हो । यहाँ सक्ता र सक्तिमा बस्नेलाई चैन समान्य नागरिकलाई ऐन हुन्छ ।

नेपाली जनता र संसदको गरिमाका लागि पनि महरालाई तत्काल पक्राउ गरी अनुसन्धान गरिनु पर्छ । महराको कार्यले संघीय संसद स्वयम् लज्जित भएको छ । उदि ती महलिाले न्याय पाउन सकिनन् भने संसलले देश र जनतालाई न्याय दिन के एउटी पीडित महिलालाई पनि न्याय गर्न नसकेको प्रमाणित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्