Logo

सताक्षीधाम धार्मिक महोत्सवमा साधुसन्तलाई चाईनिज कुटी



??

झापा, २५ कात्तिक । झापाको सताक्षीधाममा दुई दिनपछी आयोजना हुने धार्मिक महोत्सवमा चाईनिज कुटी निर्माण भएका छन् ।

हिन्दू धर्मका विदेशी गुरु तथा महोत्सवमा आउने पर्यटकका लागि ईलामको चुलाचुली स्थित नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाले चाईनिज कुटी निर्माण गरेको हो ।
नेपाली सेनाले चाईनिज टेन्ट कुटी १२ वटा र चाईनिज पाल ३ वटा गरी १५ वटा कुटी निर्माण गरेको छ । यो वाहेक जिल्लाका स्थानीय तहका लागि १५ वटा सम्पर्क कुटी निर्माण भएका छन् भने अन्य २५ वटा कुटी निर्माण भइसकेका छन् ।

नेपाली सेनाका एक प्राविधिकका अनुसार एउटा कुटीमा ८ जनासम्म अटाउन सकिन्छ । सताक्षीधाम धार्मिक महोत्सवका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले पुज्य गुरुका शिष्य सहित एउटा कुटीमा मर्यादा मिलाएर ६ जनासम्म राखिने बताए ।

आलमिनियमका फ्रेममा बाक्लो कपडा लगाएर मच्छड समेत पस्न नसक्ने गरि कुटी निर्माण भएका छन । नेपाली सेनाका एक प्राविधिकले भने, ‘घाम र पानी पस्ने कुरै भएन ।’ विदेशी पर्यटकका लागि शौचालय र खानेपानीको राम्रो प्रवन्ध मिलाइएको आयोजक समितिले जनाएको छ । जंगल बीचमै सताक्षीधाम धार्मिक महोत्सव भएकाले आयोजकले पानीको ठूलो सामना गर्नुपरेको थियो । तर, सताक्षी नदिको पानी महोत्सव स्थलमा पाइपलाइनबाट ल्याएपछी यो वर्ष ८७ धाराबाट तिर्थालुले स्नान् गर्न पाउने छन् । पानी पिउनका लागि अयोग्य रहेको आयोजक समितिले जनाएको छ ।

धार्मिक महोत्सवमा यो वर्ष महाभारत कालिन इतिहाससँग जोडिएका धार्मिक स्थानको सर्किट भ्रमण, योग सिवीर, झापाका स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शनी र खेल मनोरञ्जन महोत्सवको आकर्षण हुने आयोजक समितिले जनाएको छ ।
८७ धारा स्नान, कोटिहोम, श्रीम् देवी भागवत कथा महायज्ञ, गंगा आरती, भजन कीर्तन प्रतियोगिता, विभिन्न जात जातिका साँस्कृतिक झाँकीको प्रदर्शन महोत्सवको अर्को आकर्षण हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलले जानकारी दिए ।

राजनेता तथा धार्मिक विद्धत वर्गका व्यत्तिको आशिरवचन, झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रका श्रव्य दृष्य प्रदर्शन र महाभारत इतिहाससँग जोडिएका कथाको झाँकीले महोत्सवमा आउने तिर्थालुको ध्यान खिच्ने आयोजक समितिले जनाएको छ ।
सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखि आयोजकले महोत्सव परिषरमा सोमबार देखि नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा विट खडा गरिएको छ । यसका अलवा लगभग ५ सय स्वयम् सेवक परिचालन गरिएको सुरक्षा तथा स्वयम सेवक परिचालन उपसमितिका संयोजक महेन्द्र भट्टराईले जानकारी दिए ।

सतासीधाम जेसीज, लायन्स क्लव अफ शिवसताक्षी, २५ भन्दा वढी सहकारी संस्थाका पदाधिकारी महोत्सव परिषरमा स्वयम्सेवकको रुपमा परिचालन हुने छन् । महोत्सव परिषरमा सोमबार श्रीकृष्ण प्रणामी दुधे झिलझिले युवा परिषद्ले वृहत सरसफाई गरेको आयोजक समितिले जनाएको छ ।

सोमबार दिउसोसम्ममा महोत्सवमा ४१ वटा स्टल बुक भएको सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोम मुल आयोजक समारोह समितिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्