Logo

फुर्सदको साथी ‘टिकटक’ जसले दुनियाँ लठ्याउँदै



बिर्तामोड, ८ मंसिर । सामाजिक सञ्जालमा टिकटकले पछिल्ला दिनमा राम्रो प्रभाव जमाएको छ । यसले अर्धवैसे र युवाको मन जितेको छ । विशेष गरी युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ । घरैमा बसेर मोबाइल मार्फत आफ्नो अभिनय क्षमता र गायन प्रस्तुत गर्न सहज भएकाले यसले व्यापकता लिँदै गएको हो । टिकटकले कला क्षेत्रमा लाग्न चाहानेलाई मोबाइल मार्फत अभ्यास गराई रहेको छ । यो मनोरञ्नको एक माध्यम पनि बनेको छ ।

विशेषतः फेसबुकमा यस्ता टिकटक भिडियोे निकै लोकप्रिय बनेका छन् । नेपाल बाहेक अन्य थुप्रै देशमा यसको लोकप्रियता बढ्दो छ । टिकटक नामको भिडियो एप सुरु भएको केही समयमै विश्वमा डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । पछिल्लो समय टिकटकमा झुम्मिनेको संख्या बढिरहेको छ ।

हिजोआज टिकटक, सामाजिक साइटमा थुप्रै देख्न पाइन्छ । टिकटक रमाइलो त हुन्छ नै, साथै कलात्मक पनि हुन्छ । जुन भिडियो हेर्दा अन्य साथीभाइ, आफन्तलाई पनि रमाइलो लाग्छ । सेलिब्रेटी हुन वा सर्वसाधाण मानिस सबैको कला उजागर गर्ने एउटा राम्रो माध्यम भएकाले अहिले टिकटकको आकर्षण बढेको हो । टिकटकको माध्यमबाट कला क्षेत्रमा लाग्न धेरैलाई सहज भएको छ ।

आफ्नै मोबाइलबाट टिकटकको सहयोगमा रमाइला भिडियो तयार पारेर अपलोड गर्ने चलन हिजोआज उत्कर्षमा छ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक पछि आएका ट्विटर, इन्स्टाग्रामपछि अहिले टिकटकले धेरैको ध्यान खिचेको छ । विद्यार्थीदेखि फरक पेसा, व्यवसायमा संलग्न सबै यो एपमा रमाउने गरेका छन् । पछिल्लो समय सेलिब्रिटीको तुलनामा सर्वसाधारण नै टिकटकमा बढी हिट भइरहेका छन् । टिकटक बाटै अभिनय सुरु गरेका धेरै युवा युवती अहिले म्युजिक भिडियोमा अभिनय गर्ने समेत भइसकेका छन् ।

पेसाले नर्स विराटनगरकी रेश्मा घिमिरेले जब भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालिन्, उनका प्रशंसक बढ्दै गए । विभिन्न गीत, संगीत, समसामयिक विषय तथा फिल्मका डायलगहरूमा अभिनय गरेका भिडियो टिकटकमा अपलोड गर्दागर्दै रेश्मालाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर आयो । उनले केही म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छिन् ।

झापाकी रेनिसा थपलियाले टिकटक प्रयोग गर्न थालेको १ वर्ष भयो । दिनमा ४ देखि ५ घण्टा उनी टिकटकमै बिताउँछिन् । ‘राम्रो भिडियो बनाउन त कहिलेकाहीँ दिन नै जान्छ,’ उनले भनिन्, ‘टिकटक भिडियो बनाउन छुट्टाछ्ट्टै मेकअप र ड्रेस चाहिन्छ । त्यसपछि पनि धेरै पटक खिचेपछि मात्र चित्तबुझ्दो भिडियो बन्छ ।’ तर टिकटकको सकारात्मक पक्ष पनि रहेको उनको अनुभव छ । उनले भनिन् ‘यसमा सिर्जनात्मक भिडियोहरू पनि हुन्छन्, सदुपयोग गर्न सके राम्रो प्लेटफर्म हुन सक्छ ।’

टिकटकलाई आफ्नो साथी जस्तै ठान्छिन् बिर्तामोडकी रक्षा मैनाली । कामको चापका बीचपनि टिकटकमा इन्गेज भइहाने गरेको उनले सुनाइन् । उनले उत्साहित हुँदै भनिन्, ‘एक्लै हुँदा नि एक्लोपनको महसुस हुँदैन । टिकटक मेरो साथीजस्तै लाग्छ ।’

पोर्नोग्राफीलाई बढाउँदै लगेको भन्दै भारतमा त टिकटकमाथि त्यहाँको अदालतले प्रतिबन्ध नै लगाएको थियो । तर, यो प्रतिबन्ध लामो समय टिकेन । मद्रास उच्च अदालतले यसमाथिको प्रतिबन्ध फुकुवा गरिदिएको छ । टिकटकमा अश्लिल र गलत भिडियो देखाइएको र यसले भारतीय बच्चामाथि नकारात्मक असर पारेको मद्रासको उच्च अदालतले बताएको थियो । टिकटकमाथि बंगलादेश तथा इन्डोनेसियामा चाहिँ यसअघि नै प्रतिबन्ध लगाइएको थियो ।
टिकटकको लत बढेसँगै यसले पार्ने समस्यामा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले एकजनाको ज्यानसमेत गएको छ । घटना भारतको हो । टिकटक भिडियो बनाउने क्रममा भारतको हैदरवादमा तालमा खसेर एकजनाको मृत्यु भएको हो ।

नरसिंह नाम गरेका युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए । उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेर साइनअप गरेपछि जो कसैले १५ सेकेन्डको भिडियो बनाउन सक्छन् । नाचेर, गाएर होस् वा क्यारिकेचर, गीत र फिल्मका डायलगमा अभिनय गरेर होस् अरूले अपलोड गरेका भिडियो हेरेर मजा लिनु नै टिकटकको विशेषता हो । कुनै व्यक्तिमा भएको क्षमतालाई टिकटकले प्रस्फूटन गरेको छ । सानो उमेरका केटाकेटीदेखि सेलिब्रिटीसम्म टिकटकको प्रयोगमा भुलेका छन् ।

संसारभरका विभिन्न देशका सेलेब्रेटीदेखि सर्वसाधारणसम्म लोकप्रिय छ टिकटक । आफ्नो प्रतिभा देखाउनदेखि चर्चा बटुल्नसम्म टिकटकका १५ सेकेन्डका भिडियो काफी छन् । तसर्थ दैनिक क्रियाकलापमा प्रभाव नपर्ने गरि यसको प्रयोग गरि समयको व्यवस्थापन गर्दै मनोरञ्जन लिन सके फुर्सदको समय उपयोग गर्न अनि आनन्दित बनाउन यसले मदत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्