Logo

प्याज आतंकः बजारदेखि भान्सासम्म



झापा, १४ मंसिर । भारतमा भएको प्याजको मूल्य वृद्धिको असर नेपाली बजार र उपभोक्तामा पनि देखिएको छ ।

भारतमा ढिला गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको उत्पादन कम हुँदा मूल्यवृद्धि भएको बताइएको छ। उत्पादन कम भएपछि भारत सरकारले निर्यातमा प्रतिवन्ध लगाएको हो । भारतबाट प्याज आयात नहुँदा नेपालमा प्याजको मूल्य वृद्धि भएको हो ।

प्याजको मूल्य वृद्धिको असर बजारदेखि उपभोक्ताका भान्सासम्म देखिएको छ । न्यून आयात हुँदा बजारमा मूल्य वृद्धि भएकाले उपभोक्ताले कम खरिद गर्न थालेका छन् । कतिपय उपभोक्ताले प्याजको प्रयोग गर्नु नपर्ने खालका सब्जी खरिद गर्न थालेको व्यापारीको भनाई छ ।

प्याजको मूल्य वृद्धिलाई लिएर उपभोक्ताले सामाजिक सञ्जालमा व्यङ्य गर्न थालेका छन् । कुखुराको मासु भन्दा प्याज महङ्गो भएको सामाजिक सञ्जालमा पोष्टहरु देख्न पाइन्छ । कसैले प्याज नखाने, कसैले होटलमा प्याज माग्यो भने दुई पिस मासु थपिदिने गरेको जस्ता व्यङ्य गरेका छन् ।

प्याजको मूल्य वृद्धिबाट आतंकित भएका उपभोक्ताले पनि फरक फरक टिप्पणी गरेका छन् । ‘नेपालमा प्याज प्रतिबन्ध गरे नि हुन्छ । यस्तो महंगो किनेर खानु भन्दा तरकारिमा प्रयोग नगर्दा पनि हुन्छ । म चाहीँ खाँदिन ।’ बिर्तामोडको कृषिथोक बजारमा भेटिएकी वेद कुमारी चम्लगाईको प्रतिक्रिया हो यो ।

तरकारी किन्न आएकी चम्लागाई प्याजको मूल्य बढेकाले आफु खरिद गर्न नसक्ने बताउँछिन् । आफुलाई चाहिने जति करेसाबारीमै उत्पादन गर्न लागेको, अब यस्तो महंगो प्याज किनेर खान नसक्ने उनको भनाई थियो ।

त्यस्तै कृषिथोक बजारमै भेटिएका कप्तानबारीका लक्ष्मण गुरुङ प्याजको मूल्य बढेकाले प्याज हाल्नु नपर्ने तरकारी साग किनेर लाने गरेको बताँउछन् । ‘ महंगो छ किन्न नसकिने छ, त्यै भएर साग किनेर लाँदैछु ।’

चम्लगाई र गुरुङ उदाहरण मात्र हुन् । बजारमा प्याजको मूल्य आकाशिएसँगै अधिकाशं सर्वसाधारणले प्याज किन्न छाडिसकेका छन् । नेपालमा प्याजको उत्पादन कम हुन्छ । यहाँ उत्पादन भएको प्याजले नेपाली बजार थेग्दैन । सबै भारत लगायतका देशबाट आयात हुन्छ ।

प्याजमा भारतले गरेको रोक र मूल्य वृद्धिले आफ्नो व्यपार असर परेको बताउँछन् व्यपारी जनार्दन शाह । ‘पहिले माग धेरै हुन्थ्यो, अहिले माग घटेको छ । माग अनुसारको आयात भने हुन सकेको छैन ।’ उनले भने ‘ खुद्रा व्यापारी आएर प्याज खोज्छन्, प्याज छैन । साईकलवालाले थारै मात्रामा लुकाएर ल्याएकाले पुग्दैन।’

पहिले ३०–४० बोरा बिक्ने गरेको तर अहिले ५ बोरा पनि बिक्न गार्हा हुने गरेको गोदामका व्यपारी शाहले बताए । अर्का खुद्रा व्यपारी हरिलाल राजवंशीले पहिले एक केजी किन्न आउने ग्रहाकले अहिले एकपावा मात्र किनेर लैजाने गरेको बताए ।

प्याजको मूल्य वृद्धिले व्यापारमा गिरावट आएको उनले बताए । प्याजको मूल्य वृद्धि र आयतमा रोक लागेसँगै व्यपारी र आम उपभोक्तामा परेको समस्याको निराकरण सरकारी तहबाट हुन जरुरी रहेका व्यपारी बताउँछन् ।

पहिले प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको प्याज हाल प्रतिकेजी १५० देखी २०० रुपैयाँसम्म बिक्री भइरहेको कृषि उपजबजार कृषीथोकको तथ्याङक साहायक माया राजवंशीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्