Logo

पत्रकारले शुक्रवार प्रेस काउन्सिल घेराउ गर्ने



काठमाडौं, २६ मंसिर । प्रेस काउन्सिल शुद्धिकरणका लागि गठित केन्द्रिय संघर्ष समितिले शुक्रवार काउन्सिल घेराउ गर्ने भएको छ ।

संघर्ष समितिले शुक्रवार ११ वजेदेखि १२ वजेसम्म काउन्सिलको कार्यालय घेराउ गर्ने संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । संघर्ष समितिका संयोजक दीपक पाण्डेद्वारा बिहिवार जारी प्रेस विज्ञप्तिमा प्रेस काउन्सिलले पत्रिका वर्गीकरणमा बिभेद र पूर्वाग्रहपूर्ण तरिकाबाट गरेको भन्दै वर्गीकरण खारेज र काउन्सिल शुद्धिकरणका मुद्दा उठाउँदै घेराउ कार्यक्रम सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा काउन्सिलका पछिल्ला गतिविधिले नेपाली पत्रकारले शिर झुकाउनु पर्ने अवस्थामा पुगेको भन्दै सूचना तथा प्रसारण विभागले गर्नु पर्ने पत्रपत्रिकाको वर्गीकरणमा हस्तक्षेप गर्दै आग्रह–पूर्वाग्रहका आधारमा पत्रकार र पत्रिकाप्रति प्रतिशोध साँध्ने काम काउन्सिलका पदाधिकारीबाट भइरहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ुपत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफैँ आचारसंहिता उल्लंघन गर्ने, पत्रकाररिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यले प्रेस काउन्सिल बिवादको घेरामा पर्दै आएको छ ।ु

काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४र०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकिएको संयोज दिपक पाण्डेले बताए । तर, अहिलेसम्म काउन्सिलले आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले शुक्रवार बिहान ११ देखि १२ बजेसम्म प्रेस काउन्सिल घेराउ कार्यक्रम राखिएको पाण्डेको भनाई छ ।

विज्ञप्तिमा जनाइए अनुसार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, काठमाडौं, ललितपुर र भक्तपुर शाखाका साथै झापा, उदयपुर र पर्सा जिल्ला शाखाहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । यो अभियानलाई सफल पार्न र देशव्यापी रुपमा ऐक्यवद्धता जनाउन पत्रकार महासंघका सबै शाखाहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्