Logo

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी



काठमाडौं, २७ मंसिर । प्रेस काउन्सिल नेपाल शुद्घीकरणका लागि केन्द्रीय संघर्ष समितिले प्रेस काउन्सिल नेपाल कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

संघर्ष समितिले आज काउन्सिलमा एक घण्टा धर्ना गर्दै अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेको हो । काउन्सिलले पत्रपत्रिका वर्गीकरणमा विभेद गरेकोले पुनःवर्गीकरणका माग गर्दै तालाबन्दी गरेको हो । संघर्ष समितिले काबा अध्यक्ष श्रेष्ठको कार्यकक्षमा लागएको तालाको चावी आजै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलाई बुझाएको छ ।

संघर्ष समितिले प्रेस काउन्सिलको शुद्धिकरण र पत्रपत्रिका पुनः वर्गीकरणको माग गरी आन्दोलन गर्दै आएको छ । संघर्ष मितिका संयोजक दीपक पाण्डेले कार्यक्रमपछि जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण कार्यक्रममा काउन्सिलले प्रहरी उपस्थित गराएकोमा निन्दा र भत्र्सना गरिएको छ । कार्यक्रम समापनपछि प्रहरीले काउन्सिल गेटमा टाँगेको व्यानर लगेको थियो ।

काउन्सिलमा धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ उपत्यका समिति, पत्रकार महासंघ काठमाडौं, भक्तपुर, ललितपुर, झापा, उदयपुर, पर्सा लगायत देशभरका अधिकाँश पत्रकार महासंघका शाखाहरुले ऐक्यबद्धता जनाएका छन् ।

केन्द्रीय संघर्ष समितिका संयोजक दीपक पाण्डेले काउन्सिलको गतिविधिले नेपाली पत्रकारले शिर झुकाउनु पर्ने अवस्थामा पुगेको भन्दै सूचना तथा प्रसारण विभागले गर्नु पर्ने पत्रपत्रिकाको वर्गीकरणमा हस्तक्षेप गर्दै आग्रह–पूर्वाग्रहका आधारमा पत्रकार र पत्रिकाप्रति प्रतिशोध साँध्ने काम काउन्सिलका पदाधिकारीबाट भइरहेको बताए ।

ुपत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफैँ आचारसंहिता उल्लंघन गर्ने, पत्रकाररिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यले प्रेस काउन्सिल बिवादको घेरामा पर्दै आएको छु पाण्डेले भने ।

काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ र ०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न माग गरिएको छ ।

आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले प्रेस काउन्सिल घेराउ गर्दे कार्यबाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आफहरु बाध्य भएको आन्दोलित पत्रकाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्