Logo

ताप्लेजुङको हिमाली क्षेत्र हिउँले सेताम्मे



ताप्लेजुङ, २८ मङ्सिर । ताप्लेजुङको हिमाली क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । शुक्रबार अराह्न पछिबाट एक्कासी मौसममा आएको परिवर्तनसँगै वर्षा र हिमपात हुँदा जिल्लाको हिमाली क्षेत्र हिउँले ढाकेको छ भने जनजीवन कष्टकर बनेको छ ।

यसवर्ष हिउँद मौसम सुरु भएपछि शुक्रबार ताप्लेजुङमा पहिलो पटक हिमपात र वर्षा भएको हो । अपराह्न ४ः३० बजेपछि सुरु भएको वर्षा र हिमपात शनिबार बिहानसम्म निरन्तर रहेको थियो भने हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमाली क्षेत्रका बस्तीसम्म नै बाक्लो हिउँ थुप्रिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार हिमाली क्षेत्रका बस्ती नजिकका उच्च डाँडाहरुमा तीन÷चार फिटसम्म हिउँ थुप्रेको छ ।

मानव बस्तीका नजिक डाँडाहरुमा बाक्लो हिउँ पर्दा हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा, याङ्मा, फले लगायतका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बस्तीमा करिव डेढ फिटसम्म हिउँ थुप्रेको स्थानीय तेन्जिङ वालुङ भोटेले जानकारी दिए ।
शुक्रबार अपराह्नदेखि शनिबार बिहानसम्म निरन्तर हिउँ परेको र बस्तीसम्म नै बाक्लो हिउँ थुप्रेको वालुङले जानकारी दिए ।

वर्षासँगै रातभर परेको हिउँले गोला बस्ती ढपक्कै ढाकेको वालुङले बताए । बस्ती नै हिउँले ढाकेपछि गोलाका बासिन्दाको दैनिकी असहज भएको उनको भनाइ छ । तीन हजार १०० मिटरको उचाइ रहेको गोला बस्तीमा थुप्रिएको हिउँ पग्लनलाई घाम राम्ररी नलागेमा दुई÷तीन दिनसम्म लाग्ने पनि उनले बताए ।

उनका अनुसार फक्ताङ्लुङ–६ लेलेपको घुन्सा, फले र ओलाङ्चुङगोलाको याङ्मा बस्तीमा पनि सोही अनुपातमा हिउँ थुप्रिएको छ । कञ्चनजङ्घा हिमालको प्रवेशद्वारका रुपमा रहेको घुन्सा क्षेत्रमा परेको हिउँले पर्यटकलाई समेत प्रभाव परेको बताइएको छ ।

बस्तीसम्म नै हिउँ परेपछि चिसोले जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन् । मौसममा पूरै सुधार आइनसकेकाले हिमाली क्षेत्रमा अझै हिउँ पर्ने स्थानीयबासीले अनुमान गरेका छन् ।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि बाक्लो हिउँ परेको फेदीबजार अस्थायी प्रहरीचौकीले जानकारी दिएको छ । चौकीका इन्चार्ज धनराज लिम्बूका अनुसार मन्दिर क्षेत्रमा करिव डेढ फिटसम्म र पाथीभरा क्षेत्रको फेदीबजार, काफ्लेपाटीसम्म नै निक्कै हिउँ छ ।

हिउँ परेपछि दर्शनार्थी तथा स्थानीय बासिन्दालाई चिसोले निक्कै सास्ती दिएको चौकी इन्चार्ज लिम्बूले बताउनुभयो । यस्तै दुई हजार ४०० मिटरको उचाइ रहेको सुकेटार विमास्थल, सुकेटारकै गुप्ते, देउराली लगायतका क्षेत्रमा समेत सामान्य हिउँ परेको छ ।

यता गएको वर्षभन्दा यो वर्ष केही समय अघि नै हिउँ परेको स्थानीयले बताएका छन् । तथ्याङ्कअनुसार गतवर्ष पुसको तेस्रो साता मात्र हिउँ परेको थियो । यसवर्ष मङ्सिरभित्रै हिउँ परेर उच्च हिमाली क्षेत्रका डाँडाहरु हिउँले सेताम्मे भएपछि चिसो निक्कै बढेको र चिसोले सदरमुकामसहित सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बनेको छ ।

चिसो बढेपछि शनिबार जिल्लाको न्युनतम् तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका सहायक गणेश थापाले जानकारी दिए । थापाका अनुसार शुक्रबार राती ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच हिमपात र वर्षा भई दिएकाले किसानले भने राहतको महशुस गरेका छन् । किसानका अनुसार जिल्लाकै मुख्य नगदेबाली अलैँचीलाई वर्षाले राहत पुगेको छ । आलु लगायत तरकारी बाली तथा हिजोआज लगाइएको हिउँदेबालीलाई राहत मिलेको स्थानीय किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्