Logo

झापाका प्रदेश सभा सदस्यको वजेटः शिक्षा-स्वास्थ्यमा भन्दा, मठमन्दिर र मदरसामा बढी



झापा, ४ पुस । नेपाल धार्मिक स्वतन्त्रता भएको मूलुक भएपनि राज्य, सरकार, जनप्रतिनिधि, संघ संस्था धार्मिक गतिििवधिबाट अलग हुन सकेका छैनन् । राज्यले धर्म निजी विषय भएको परिभाषित गरेपनि झापा जनप्रतिनिधि निश्चित धर्म र समुदायका लागि राज्यको साधन स्रोत परिचालन गरिरहेका छन् । संविधानको धर्म निरपेक्षताको नीति निर्माण गर्ने तहबाटै उलंघन भएको छ ।

१ नम्बर प्रदेश सरकारले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रको पूर्वाधार बिकासका लागि छुट्याएको वजेट धार्मिक मठमन्दिर निर्माणमा विनियोजन भएको छ । मन्दिर छेउको विद्यालयमा खर्च गर्नु भन्दा प्रदेश सभा सदस्य मठमन्दिरमा खर्च गर्न लालायित देखिएका छन् ।

विद्यालयमा भएको खर्च देखिँदैन मन्दिरका गरेको खर्च सबैले थाहा पाउँछन् अर्थात माननीयहरु भोटका लागि मठमन्दिर र गुम्बामा खर्च गरेका छन् । झापा १३ जना मध्ये ८ जना सभा सदस्यले मठमन्दिर, गुम्बा र मदरसालाई बजेट दिएपनि क्रिश्चियन समुदायलाई एक रुपैयाँपनि विनियोजन गरेका छैनन् ।

झापाका १३ जना प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र पूर्वाधारका लागि आएको रु छ करोड ५० लाख बजेटमध्ये ८ जना प्रदेश सभा सदस्यले ९१ लख २५ हजार रुपैयाँ मठमन्दिरका भवन, मन्दिर भित्र बन्ने सामुदायिक भवन, मन्दिरका पर्खाल निर्माण जस्ता कार्यक्रमका लागि रकम छुट्याइएको छ ।

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा भन्दा मतदाता र समुदायलाई खुसी बनाउने प्रकृतिका कार्यक्रममा केन्द्रित भएको देखिएको छ । स्थानीय समुदायबाट मठमन्दिर, सामुदायिक भवन, जेष्ठ नागरिक भवन जस्ता पूर्वाधारका लागि वजेट माग भएर आउने प्रदेश सभा सदस्य एकराज कार्कीले बताए । उनले आफुले बिर्तामोडको सामुदायिक विद्यालय संचालनका लागि मदरसालाई दश लाख छुट्याएको बताए ।

प्रदेशसभा सदस्य हिराकुमार थापाले कनकाई नगरपालिका–५ मा रहेको कोटीहोम प्रणामी सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, क्षेत्र २ अन्तर्गत १ का अर्का प्रदेशसभा सदस्य एकराज कार्कीले विर्तामोड नगरपालिकामा रहेको मुश्लिम सामुदायिक मदरसा भवन निर्माणका लागि रु १० लाख, कनकाई नगरपालिकामा रहेको नवदुर्गा मन्दिर शीतलचोक ज्येष्ठ नागरिक भवन निर्माणमा रु सात लाख, विर्तामोडकै ग्रामकाली मन्दिरको सामुदायिक भवन निर्माणमा रु पाँच लाख छुट्याएका छन् ।

क्षेत्र नं ५ का प्रदेशसभा सदस्य इन्दिरा राईले कमल गाउँपालिकामा रहेको किराँत चोलुङ माङ्गहीम भवन निर्माणका लागि रु पाँच लाख ५० हजार, दमकको पर्यटकीय मन्दिर धनेश्वरधाम गेट निर्माणका लागि रु पाँच लाख ७५ हजार, निर्वाचन क्षेत्र ३ अन्तर्गत १ प्रदेशसभा सदस्य वसन्त बानियाँले भद्रपुर नगरपालिकामा रहेको दुर्गा मन्दिरको भवन निर्माणका लागि रु नौ लाख, कचनकवल गाउँपालिका ६ र ७ विष्णु पाञ्चायन मन्दिरमा सत्संग भवन निर्माणका लागि रु १० लाख, सांसद ओमप्रकाश सरावगीले भद्रपुरको गायत्री मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख बिनियोजन गरेका छन् ।

प्रदेशसभा सदस्य श्री प्रसाद मैनालीले मेचीनगर–७ को राधाकृष्ण मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख, ७ नं कै झिलझिले नर्वदेश्वर शिवालय मन्दिरको शौचालय तथा होमकुण्ड निर्माणका लागि रु पाँच लाख, क्षेत्र नं ५ अन्तर्गत २ का प्रदेशसभा सदस्य अर्जुन राईले नामङ्न्याल कुछे जिल्ला बौद्ध गुम्बा कम्पाउड निर्माणमा रु आठ लाख, निर्वाचन क्षेत्र नं २ अन्तर्ग २ का प्रदेशसभा सदस्य बृखबहादुर प्रधानले अर्जुनधारा–९ बाह्रघरेमा रहेका ग्रागी विद्यापीठ भवन निर्माणमा रु पाँच लाख, अर्जुनधारा–६ को भीमसेनथान मन्दिरमा आवास निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, राधा थापा, गोपाल बुढाथोकी, पूर्णसिंह राजवंशीले विद्यालयका भवन निर्माण, सडक र आत्मनिर्भर बनाउन विभिन्न सशक्तिकरणका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । प्रदेश सभा सदस्य जसमायाँ गजमेरले आफुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् ।

प्रदेश सभा सदस्यले जेष्ठ नागरिक भवन, सामुदायिक भवन भने पनि ती धार्मिक मठमन्दिरसँग सम्बन्धित रहेका छन् । संविधानमा लेखिएको एक थोक, सभा सदस्य गर्दछन् अर्कै थोक, एस प्रदेश सभा सदस्यको टिप्पणी गरे । उनले भने, संसार बदल्छु भनेर हिँडेका कम्युनिष्ट पार्टीका माननीयको धार्मिक आसक्ति झन बुझि नसक्नु छ ।

प्रतिक्रिया दिनुहोस्