Logo

चारपाने हत्याप्रकरण: रक्सीको नशामा साथीको लिंग काटेर हत्या



झापा, २४ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा गत सोमबार राति भएको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार सम्मेलन गर्दै हत्या गरिएका भारतीय नागरिक सुवान शेख र उनका दुई साथीबिच मादक पदार्थ सेवन गरि एक आपसमा झगडा शुरु भएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार शेखको हत्यामा संलग्नहरु चारपानेकै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादव रहेका छन्। उनीहरु पहिलादेखिकै चिनजानका साथी रहेको पत्रकार सम्मेलनमा बताइएको छ।

बिर्तामोड २ चारपानेका एनकुमार राजवंशीको दुईवटा घरको बीचमा रक्सी पिएर उनीहरुबीच विवाद उत्पन्न भएको जनाइएको छ । शेखले दुवै जना साथीलाई गाली गलौज गरेपछि उनीहरुबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

विवादका क्रममा चौधरीले शेखलाई लडाएर ढुङ्गाले हिर्काउँदै अचेत बनाएका थिए । उनीहरुले आफूहरुलाई गाली गरेको सम्झिँदै चक्कु ल्याएर शेखको सम्वेदनशील अङ्ग काटिदिएपछि घिसारेर लगेर परालले छोपेर आगो लगाएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्