Logo

बिर्तामोड–भद्रपुर सडक: पानी हाल्दा हिलो नहाल्दा धुलो



झापा, १२ फागुन । झापाको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भएका छन् । दुई वर्षदेखि निरन्तर निर्माण भइरहेको बिर्तामोड–भद्रपुर सडक जताततै खनिएका छन् । सडकको दुवै भागमा नाली र खाल्डा खनेर असरल्ल पारिएको छ । मानिस हिँड्नै समस्या भएको छ । नगरपालिका र निर्माण कम्पनीले सडकमा पानी हाले पनि सडक समयमा नबन्दा समस्या भएको हो ।

बिर्तामोड–भद्रपुर सडक चौबिसै घण्टा व्यस्त हुने सडक हो । बाटोको दाँया बाँया दुवै तिर खाल्डाखुल्डी छन् । बिजुली, टेलिफोन र केबलका तार भुइँभरी लत्रिएका छन् । गाडी पार्किङ गर्न राम्रो व्यवस्था छैन । सडकमा बिभिन्न कार्यक्रमका गेट ठड्याइदा पैदल यात्रुले सास्ती भोग्नु परेको छ ।

सडकको हिलो, धुलो र खाल्डाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरेको छ । ठेक्का लाग्ने तर काम नहुने समस्याका कारण बर्षौंबाट यो सडक बन्न सकेको छैन् । सडक निर्माणको माग गर्दै बिर्तामोडका युवाले कहिले सडकमै धान रोपेकाछन् भने कहिले प्रदर्शन गरेका छन् । समयमै सडक निर्माण नहुँदा सामाजिक संजालमा झापाका नेता र स्थानीय सरकार प्रमुखहरुको आलोचना समेत हुने गरेको छ ।

सडकको धुलो कम गर्न बिर्तामोड नगरपालिकाले सडकमा लाखौँको पानी हाले पनि धुलो नियन्त्रण हुन सकेको छैन । पानी हाल्दा हिलाम्मे हुने सो सडक नहाल्दा धुलोले कुइरिमण्डल हुन्छ । बिर्तामोड सडक खण्डमा भेटिएकी चम्पा खनाल बाटोले, यहाको गाडीको जाम र हिलोले गर्दा धेरै समस्या भएको बताउँछिन् । उनले भनिन् ‘सबैलाई आफ्नै हतारो हुन्छ । अझ ओभरट्याक गर्ने गाडीको होडबाजीले कति बेला कहाँ दुर्घटना हुन्छ भन्ने अर्को पिर छ ।’

बिर्तामोडदेखि भद्रपुर पुग्ने सडक चार लेनको बनाउने गरी काम सुरु भएको वर्षौ बितिसक्यो । सम्झौताअनुसार सडक निर्माणको काम सक्नुपर्ने मिति २०७६ पुस मसान्त हो। तर, अहिलेसम्म सडक किनाराको दायाँबायाँ नाली बनाउने कार्यसमेत पूरा हुन सकेको छैन ।

आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो सडकमा लामो समयसम्म काम अघि नबढेपछि निर्माणले गति लिन नसकेको हो । गत मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले ठेकेदारको रूपमा काम गरिरहेका छन्।

निर्माण कम्पनीले २०७६ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। निर्माण कम्पनीले विद्युत्को पोल सार्न समस्या भएकाले निर्माणको काम अघि बढ्न नसकेको भनेर पुस मसान्तसम्म म्याद थपिएको थियो। तर, निर्धारित समयसम्म पनि सडक निर्माण काम सम्पन्न हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्