Logo

घाइते बाल श्रमिकको कैदी जस्तै जीवन !



झापा, १९ फागुन । लाँउलाँउ खाँउखाँउको उमेरमा कोठा भित्रै बस्न बाध्य छन् बिर्तामोडका १९ वर्षिय अभिषेक । सानै उमेरमा आमा गुमाएका उनलाई एक पछि अर्को बज्रपात पर्दैगयो । बाबुले अर्की श्रीमती ल्याएपछि उनको जिवन अझै कष्ठकर बन्यो ।

आमाको मायाबाट बन्चित भएका अभिषेक र उनका दाजु आफ्नी कान्छि फुपुसँग हुर्किए । आर्थिक अवस्था कमजोर भएकाले कक्षा ६ मा पढ्दापढ्दै पढाईलाई रोकेर दाजुसँगै घर निमार्णको काम गर्न थाले । त्यसबेला उनी १७ वर्षिय बालक श्रमिक थिए । पारिवारीक पीडा थियो नै त्यसमा  ‘हुने हार दैव नटार’  भने झै भयो । उनी काम गर्ने क्रममा एक तला माथिबाट झरेर घाईते भए ।

बाल श्रमिक रहेका अपाङ्ग अभिषेक एउटा कोठा कैदी जस्तै भएका छन् । हलचल गर्न सक्तैनन् । कोठा भन्दा बाहिरी संसार नदेखेको दुई वर्ष भयो । उनको नित्यकर्मदेखि दिनचर्या सबैथोक आफु सुतेकै ओछ्यानमा हुन्छ । उनको त्यो रहर होइन बाध्यता हो ।

बिर्तामोड नगरपालिकाको जात्रुबाडीमा जन्मिएका अभिषेकले १७ बर्षको उमेरमा घर निमार्णको काम गर्ने क्रममा एक तलाबाट लडेर घाईते भएका हुन् । मेरुदण्डमा समस्या र नशा च्यापिएर उनी थला परेका हुन् । उपचारका लागि सातदेखि आठलाख रुपैयाँ खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए । गरिबिका कारण उपचार हुन नसकेका अभिषेक बाचेर केही गर्न चाहान्थे । तर, उपचार गर्दासमेत खुट्टा ठिक नभएपछि यतिबेला उनी ओछ्यानको सहारामा लडिरहेका छन् ।

ठेकेदार र आफैले रकम जुटाएर उपचार गर्दासमेत खुट्टा ठिक नहुने भएपछि उनले खुट्टा गुमाउनु पर्यो । मानसिक रुपमा स्वास्थ्य भएपनि दिशापिसाब आफै नियन्त्रण गर्न सक्ने सामथ्र्य समेत गुमाएका छन् ।

तत्कालिन समयमा झापाका युवा युवतिले अभिषेक बचाउ अभियान समेत सञ्चालन गरेका थिए । हालसम्म पनि उक्त अभियान सञ्चालनमा रहेको अभियानका संयोजक बिवेक सुनदासले बताए । उनले भने, ‘अभियानले उसलाई लाखौको सहयोग गरेको छ । उसको तिघ्रामा ५ वटा २ इन्च भन्दा गहिरो खाल्डो परेको थियो । त्यो उपचार अभियानबाट संकलित रकमले नै गरिएको हो । उसलाई धरान अस्पतालले बाँच्ने समभावना छैन भनेपछि हामिले अभियान थालनी गरेका हौँ ।’ अहिले पनि अभियानले उसलाई दैनिक ड्रेसिङ गर्ने, पिसाबको नलि फेर्ने लगायतका औषधीजन्य सामग्री मेडिकलमा खाता खोलेर सम्पुर्ण खर्च बेहोरेको संयोजक सुनदासले बताए ।

आफु अपाङ्ग भएको थाहा पाएपछि उनी छागाबाट झरेजस्तै भए । उनले आँखाभरी आसु पार्दै भने, ‘जीवन भर हिड्न नसक्ने भए भनेर धेरै रोए, दैवले पनि दुई वटै खुट्टा लग्यो,  दिशापिशाब आफै नियन्त्रण गर्न सक्ने भए पनि त हुन्थ्यो नि ।’ उनी हाल बिर्तामोडमा नै फुपुसँग डेरामा बस्दै आएका छन् । उनकी फुपु पुजा श्रेष्ठ अरुको घरमा काम गरेर गुजारा टार्दै अभिषेकलाई स्याहारसुसार गर्दै आएकी छिन् ।

अभिषेकका दाजु हाल बिदेशमा छन्, कहिलेकाँही फोन गरेर हाल खबर सोध्ने गरेको फुपुले सुनाईन् । उनले भनिन्, ‘अभिषेकको उपचार गर्ने बलेमा धेरै तिरबाट सहयोग आएको थियो । काठमाडौँ लगेर उपचार पनि गरायौ । तर, समस्या धेरै भएकाले उपचार नै भएन । उसको खुट्टाले काम नै नगर्ने भयो । अहिले सबै स्याहार आफैले गर्दै आएको छु ।’

अभिषेकका बाबु अहिले कान्छि श्रीमतीसँग छुट्टै बस्दै आएको र छोराको हालखबर अहिले सम्म पनि सोधिखोजी नगरेको फुपुले दुखेसो पोखिन् । उनले भनिन्, ‘सानै देखि मैले नै हेर्चाह गर्दै आए । यिनीहरुको स्याहार गर्न मैले बिहे नै नगरी बसेको छु । बाचुञ्जेल गर्छु म मरे पछि जे होला होला ।’ फुप’ले भक्कानिदै भनिन्, ‘अहिले म दुई ओटा घरमा काम गर्छु  । महिनाको आठ हजार हुन्छ । घर भाडा दुई हजार छ । अहिलेसम्म जेनतेन पुर्याकै छु ।’  बिहानै ४ बजे उठेर खाना खुवाएर ६ बजे काममा जाने र २ बजे आएर पुन स्याहार्ने गरेको उनले बताईन् ।

अभिषेक पहिले हुईल चियरमा बस्न सक्थे । दाजुले बिहे गरेर छुट्टिएपछि बाहिर निकाल्ने मान्छे नभएको र हाल हुईल चियरमा बस्ने गरि खुट्टा खुम्चिनसमेत छाडेको उनले बताए । ‘दैवले जीवन त दिए दिए तर, किन यस्तो ? बरु लगेकै भए जाती ! ’ उनले दुखेसो पोख्दै सुनाए ‘जीवनदेखि हार लागिसक्यो, यस्तो जीवन अरु कसैले पनि जिउनु नपरोस् ।’   

प्रतिक्रिया दिनुहोस्