Logo

झापा बिद्रोहका योद्धा धर्म घिमिरे भारतको बंगालमा मृत फेला



झापा, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा तथा झापा बिद्रोहका योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा उनलाई मृत अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

मेचीनगर–१३ दुहागढी घर भएका उनी विगत ८ वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजिकैको चारआली बजार जान्छु भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए । परिवारले उनको खोजी गरिरहेको थियो ।

उनको शब बागडोग्रा मेडिकल कलेजमा राखिएको र नेपालबाट गएर मृतकका भाइ नरेन्द्र घिमिरेले शब पहिचान गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।

वि. सं. २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं. १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट सभासद् निर्वाचित एका थिए ।

बिक्रम सम्वत् २०२८ (२९ सालमा भएको झापा विद्रोहका क्रममा पक्राउ परेका घिमिरेले ९ वर्ष चरम यातनासहित जेलको सजाय भोगेका थिए । झापाका बिद्रोहीले गरेको चर्चित नख्खु जेलब्रेक गर्नेहरु मध्ये उनी एक थिए । पञ्चायती शासकद्वारा उनी प्रधानमन्त्री केपी ओली, नेकपा मालेका महासचिव सीपी मैनालीसँगै जेलमा राखिएका थिए ।

उनी एसियन हाइवेमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै उनको मृत्यु भएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । नेकपा मेचीनगरका अध्यक्ष माधव अर्यालले संविधानसभा सदस्य घिमिरेको असामयिक निधन भएको पुष्टि भएको र शवलाई नेपाल ल्याउन परिवारका सदस्यहरु भारत गइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्