Logo

झापामा आँखा उपचार गर्न आउने भारतीयको ज्वरो पनि जाँचिदैन !



झापा, २४ फागुन । झापाको बिर्तामोड र मेचीनगरका ६ वटा आँखा अस्पतालमा अधिकांश भारतीय नागरिक उपचार गर्न आउने गरेका छन् । तर, ती कुनै पनि आँखा अस्पतालले कोरोना भाइरस संक्रमण सम्बन्धी परीक्षण गर्दैनन् । सबै आँखा अस्पतालमा भारतीय नागरिकले खुल्ला रुपमा आँखा परीक्षण गरिरहेका छन् ।

बिर्तामोडमा मेची आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल र दृष्टी आँखा अस्पताल छन् भने मेची नगरमा काँकरभिट्टा आँखा अस्पताल, मेची नेत्रालय र दिव्यज्योती आँखा अस्पताल संचालनमा छन् । यि सबै अस्पतालमा उपचार गर्न आउने अधिकांश भारतीय नागरिक हुन् । ती अस्पतालले भारतीय वा नेपाली कसैको पनि ज्वरोसम्म परीक्षण गर्दैनन् ।

बिर्तामोडको मेची आँखा अस्पतालमा दैनिक ६ सय देखि ७ सय भारतीय नागरिक आँखा पउचार गर्न आउने अस्पतालका प्रसाशन प्रमुख सुरज रौनियारले बताए । मेचीमा ७० देखि ८० प्रतिशत उपचार गर्न भारतीय आउने गरेको उनले बताए । उनले भने, बिरामीसँग एकदेखि दुई जनासम्म आउने सख्यालाई जोड्दा मेचीमा दैनिक लगभग दुई हजार भारतीय नागरिक आउँछन् ।

बिर्तामोड आँखा अस्पतालमा पनि ५० प्रतिशत भारतीय नागरिक आँखा उपचारमा आउने अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले बताए । बिर्तामोड नगरपालिकाले ज्वरो परीक्षण गर्ने इन्फारेड थर्ममिटर दिएपछि परीक्षण थालिने दाहालले बताए ।

बिर्तामोड नगरपालिकाले ज्वरो नाप्न प्रयोग गरिने इन्फारेड थर्ममिटर आइतवार बितरण गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले जानकारी दिए । भारतसँग जोडिएको मेची नगरका तीन वटा आखाँ अस्पतालमा कोरोना सम्बन्धी ज्वरो परीक्षणको कुनै तयारी नभएको मेचीनगरका प्रमुख प्रसाशकीय अधिकृत महेन्द्र खाम्याकले बताए । उनले अस्पताल आफैँले सजगता अपनाएर परीक्षण गर्नु पर्ने बताए ।

भारतबाट काँकरभिट्टा सीमा हुँदै नेपाल प्रवेश गर्ने संकास्पद व्यक्तिको इन्फारेड थर्ममिटरले ज्वरो परीक्षण गर्ने गरिएको छ । मेचीनगरले गएको माघ १४ गतेबाट ज्वरो मापन सुरु गरेको हो । दैनिक तीन हजार भन्दा बढी भारतबाट मानिस आएपनि संकास्पद ८ देखि १० जनाको ज्वरो परीक्षण हुँदै आएको थियो ।

तर, शुक्रवारबाट भारतीयसहित ७० जनाको ज्वरो परीक्षण गरिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन् । उनले एउटा इन्फारेड थर्ममिटरले ज्वरो परीक्षण गर्ने गरिएको बताइन् । उनले भनिन्, माक्स र धर्ममिटरको अभाव छ, बजारमा पाउन पनि समस्या छ ।

जिल्ला विपत् व्यवस्थापन समिति झापाको शुक्रवार बसेको बैठकले कोरोना संक्रमणका बिरुद्ध जनतेना र तयारीका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ ।

स्थानीय सरकारले विद्यालय र बजार क्षेत्रमा पर्चा बाँड्ने र माइकिङ गर्ने काम गरेका छन् । तर, कोरोना संक्रमण देखिएमा संक्रमितलाई उपचार गर्ने अस्पतालमा आइसोलेसन कक्षको निर्माण र स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पिइपी ड्रेस लगायतका सामग्री उपलब्ध छैनन् ।

मेचीनगर नगरपालिकाले माघ १४ गतेबाट काँकरभिट्टामा भारतबाट प्रवेश गर्ने व्यक्तिको इन्फारेड थर्ममिटरबाट ज्वरो परीक्षण गर्दै आएको छ । काँकरभिट्टा नाकाबाट पिइपी ड्रेस जस्ता उपकरण बिना परीक्षण गर्नु पर्दा स्वास्थ्यकर्मी आफैँ जोखिम र त्रसित रहेका छन् ।

काँकरभिट्टापछि झापाको भद्रपुर दोस्रो ठुलो नाका भएपनि त्यहाँ कुनै स्वास्थ्यकर्मी परिचालन गरिएको छैन । भारतबाट आउनेको ज्वरोपनि परीक्षण हुँदैन । भद्रपुर नगरपालिका पनि सामान्य प्रचारमै सीमित भएको छ ।

गौरिगञ्ज, महाभारा, नकलबन्दा, झापा लगायतका छोटी नाका हुँदै भारतबाट आउने व्यक्तिको कुनै स्वास्थ्य परीक्षण नहुने बैठकमा सहभागीले बताए । झपाका केही स्थानीय सरकारले स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई पर्चा बाँड्ने, हात धुन सिकाउने जस्ता जनचेताना मूलक कार्य गर्दै आएका छन् ।

भद्रपुर बिमानस्थल कार्यालयले बिहिवारबाट इन्फारेड थर्ममिटरबाट ज्वरो परीक्षण गर्न गराएको छ । मेची अञ्चल अस्पतालले दुईवटा क्याबिनलाई आइसोलेसन रुम भनेपनि त्यो मापदण्ड नपुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर पिताम्बर ठाकुरले बताए ।

उनले औजारका अभावमा ती क्याबिललाई आइसोलेसन बनाउन नसकिएको बताए । उनले कोरोना संक्रमित बोक्ने एम्बूलेन्स, स्वास्थ्यकर्मीका लागि डे्रस जस्ता उपकरणको प्रवन्ध नहुँदा स्वाथ्यकमीलाई जाँच गर्न समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्