Logo

भद्रपुरको सीमा नाकाः बिहार खुल्ला, बंगाल बन्द



नेपालको सीमा चेक पोष्ट

झापा, ६ चैत । कोरोना संक्रमणका कारण भद्रपुरबाट भारत पश्चिम बंगालतर्फको नाका बन्द छ भने बिहारसँग जोडिएको नाका खुल्ला रहेको छ । पश्चिम बंगाल सरकारले एक सातादेखि काँकरभिट्टा बाहेकका सबै नाका बन्द गरेर आवतजावतमा रोक लगाएको छ । बिहार सरकारले भने सबै नाका खुल्ला गरेको छ ।

भद्रपुरबाट मेची पुल तर्ने बित्तिकै आउने बंगालको गलगलिया बजारतर्फ जाने नाकाबाट आवतजावत गर्न रोक लगाएको छ । तर, नजिकैको बिहारतर्फको नाकामा आवतजावतमा कुनै अवरोध छैन ।

बिहारको खुल्ला बजार

बंगाल सुनसान, बिहार गुल्जार
मेची पुल निर्माण पछि बिहारको पुरानो गलगलिया बजार मेची पारी डिल नजिक नयाँ गलगलिया बजार स्थापना भएका छन् । पुरानो सडक आसपासमा बिहारको गलगलिया बजार छ भने त्यसको दुई सय मिटर उत्तरमा बंगालतर्फको गलगलिया बजार छ ।

सीमा नाका खुल्ला भएकाले बिहारतर्फको बजारमा मानिसको आवतजावत भइरहेको छ । व्यापार व्यावसाय पहिलेको तुलनामा कम भएपनि ठप्प नभएको व्यावसायीको भनाई छ ।

बिहारको खुल्ला बजार

भद्रपुर पारीको बंगालतर्फको बजारमा भने नेपालबाट जानेलाई रोक लगाएपछि बजार चकमन्न छ । एक व्यावसायीले पुरै सुख्खा लागेको प्रतिक्रिया दिए । बिहारबाट बंगाल जानमा कुनै अवरोध नभएपनि नेपाली खरिदकर्ता नजाँदा बंगालको बजार सुनसान भएको हो ।

बंगालको सुनसान गलगलिया बजार

नेपालबाट किनमेल लगायतका काममा जानेलाई कुनै अवरोध नभएको बिहारका सुरक्षाकर्मीले बताए । नेपालका सुरक्षाकर्मीले पनि मेची पुलमै चेकजाँच गर्ने गर्दछन् ।

शंकास्पद वा टाढाबाट आएकाको ज्वरो परीक्षण हुने गरेको नेपाली सुरक्षाकर्मी बताउँछन् । भारतमा पनि टाढाबाट आउने वा लामो यात्रामा जानेलाई मात्र ज्वरो परीक्षण गर्ने गरेका छन् ।

गलगलियामा कोरोना संक्रमणको हल्ला
पुरानो गलगलिया बजार दक्षिणको गाउँमा दुई जाना कोरोना संक्रमित भेटिएको हल्लाले स्थानीय त्रसित छन् । दिल्लीबाट आएका चार जना श्रमिक मध्ये दुई जना संक्रमितको उपचार भइरहेको तर संँगै आएका अन्य दुई जना भागेको हल्लाले स्थानीय त्रसित छन् ।

ज्वरो नाप्ने काम १० देखि ५ बजेसम्म मात्र
मेची पुल तरेर नेपाल प्रवेश गर्नेलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सोधपुछ गर्ने र शंका लागेका व्यक्तिलाई हेल्पडेक्समा ज्वरो परीक्षण गर्न लगाउने गरेका छन् ।

बुधवार ५ सय १५ जनाको ज्वरो परीक्षण गर्दा एक जानामा पनि ज्वरो नदेखिएको सुरक्षाकर्मीले जानकारी दिए । तर, हेल्पडेक्समा बस्ने स्वास्थ्यकर्मी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र डिउटी गर्ने भएकाले त्यस अघिपछि निर्वाध रुपमा आउजाउ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्