Logo

बिर्तामोडको कृषिथोक बजार आजबाट बन्द



झापा, १३ चैत । बिर्तामोड नगरपालिका र प्रशासनले बिर्तामोडको कृषिथोक बजार आजबाट बन्द गरेका छन् । सरकारले कोरोना भाइरस संक्रमणका बिरुद्ध गरेका लकडाउन उलंघन हुने गरी कृषिथोकमा भिड भएपछि स्थानीय सरकार र प्रशासनले कृषिथोकको सब्जी बजार बन्द गरेको हो ।

संघीय सरकारले लकडाउनमा सागसब्जी अत्यावश्यक बस्तु भएकाले खुल्ला गर्ने भनेपनि भिड धेरै भएकाले रोक लगाइएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।

नगरप्रमुख सिवाकोटीले सब्जी किन्नेको भिड र सवारी साधनको चाप बढेकाले रोक लगाउनु पर्ने बाध्यता आएको बताए । उनले खुद्रा सब्जी बिक्रीका लागि वैकल्पिक व्यवस्था मिलाउने बताए ।

खुद्रा सब्जी किनमेलमा भिड भएकाले बजार बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । महामारीको दुर्घटना नहोस भन्ने उद्देश्यले सब्जी बजार बन्द गरिएको प्रजिअ राना मगरको कथन छ ।

प्रशासन र स्थानीय सरकारको निर्णयपछि कृषिथोकोकमा आज प्रहरीले कसैलाई पनि प्रवेश गर्ने दिएको छैन । तर, स्थानीय सरकार र प्रशासनले दुरी कायम राखेर बिहान ८ बजेसम्म थोक सब्जी खरिदबिक्री भने खुल्ला राख्ने भएको छ ।

बिर्तामोडको कृषिथोक बजारमा पाँचथर, इलाम लगायतका पहाडी जिल्ला, झापा र भारतबाट आयात गरिएका सब्जीको थोक तथा खुद्रा बिक्री हुने गरेको छ । थोक र खुद्रा बिक्री स्थल एउटै भएकाले कृषिथोकमा सागसब्जी खरिद गर्नेको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्