Logo

झापा कारागारका कैदी-बन्दीको भान्सामा सब्जी बिनाको भात !



भद्रपुर, २५ चैत्र । झापा कारागारका कैदी-बन्दीले पाउने दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्यामा परेका छन् । सरकारले कैदी-बन्दीलाई चामल नियमित दिएपनि नुन, तेल खर्च वापतको सिदा रकम रोकिएपछि साग सब्जी लगायत खरिदमा समस्या भएको हो । उनीहरु सागसब्जी बिनै भात खानु पर्ने अवस्थामा पुगेका छन् ।

झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित बाल बालिका छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै कैदी-बन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ सिदा खर्च रोकिएपछि उनीहरु आर्थिक समस्यामा परेका हुन् । कैदी-बन्दीले फागुन १५ गतेयता सिदा वापतको रकम नपाएको गुनासो गरे ।

चामल भएपनि सागसब्जी, तेल, नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक कैदी बन्दी बताउँछन् । ‘चामल मात्रै खान मिलेन, रकम नपठाएर कैदी-बन्दीलाई सरकारले राहतको सट्टा आहत र पीडा दिएको गुनासो सुनाए ।’

सिदा खर्च वापतको रकम नआएपछि कारागारमा समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले बताए । प्रमुख जिल्ला अधिकारी हुदै विभागसम्म समस्याका बारेमा पटक–पटक लिखित र मौखिक जानकारी गराएपनि सुनुवाई नभएको निरौलाको भनाइ छ । सिदा रकमको फायल अर्थमन्त्रालयमा अड्किँदा झापा कारागारका कैदी-बन्दी नूनसँग भात खानु पर्ने अवस्थमा छन् ।

कारागार प्रसाशनले सानो सख्यामा रहेका महिला कैदी-बन्दीका लागि वैकल्पिक व्यवस्था गरेपनि ठूलो संख्यामा रहेका पुरुष कैदी-बन्दीको समस्या भएको कारागार प्रमुख निरौलाले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले कारागारमा सिदा वापतको रमकको अभावका सम्बन्धमा विभागमा पठाए पनि निकासा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्