Logo

सूचना लुकाउने कर्मचारी, गाली खाने पत्रकार !



झापा, ४ वैसाख । एक साता अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना संक्रमित भएको भन्ने समयमा सूचना नदिँदा मिडियाप्रति भ्रम उत्पन्न भएको थियो । कोरोना संक्रमित भेटिएको सञ्चारमाध्यमले गरेको खुलासा भोलीपल्ट मात्र प्रमाणित भएको थियो । सूचना लुकाउने त्यस घटनाले मिडियामा नकारात्मक भ्रम उत्पन्न गरेको थियो ।

त्यस्तै सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राजधानीबाट फर्कन चाहनेलाई उपत्यकाबाट फर्कन दिने तर आउन नदिने निर्णय गरेको दुई घण्टा नभइ फिर्ता लिएको थियो । निर्णय फिर्तामात्र लिइएन, निर्णयनै नभएको भन्दै समितिका संयोजकले सञ्चारमाध्यमलाई दोस दिए ।

नागरिकले यी भटनामा सञ्चारमाध्यमको आलोचना गरे । मिडिया समाचारको सत्यता पुष्टि गर्न थप समाचार लेख्नु पर्यो । दुई घटना सत्यसावित भए । तर, नागरिकले मिडियालाई गाली गरिसकेका थिए । मिडियामा फरक फरक कुरा आएपछि नागरिकबाट आलोचना हुनु स्वाभाविक पनि हो ।

तर, अहिले जिल्ला जिल्लामा कोरोना सम्बन्धी सूचना लुकाउने र भ्रम उत्पन्न गर्ने काम हुन थालेको छ । जिल्लाका जिम्मेवार व्यक्तिले केन्द्रले गरेको गलत अभ्यासको सिको गर्दै मिडियालाई आलोचित र आरोपित गर्ने अवस्थामा पूर्याउँदैछन् ।

झापाको हल्दिवारी गाउँपालिकामा र्यापिड डाइग्नोसिस्ट टेस्ट(आरटिडी) विधिबाट बुधवार गरिएको परीक्षणमा एकजनामा पोजेटिभ देखिएको थियो । ती युवाको पिसिआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ रिपोर्ट आयो । सञ्चारमाध्यममा आरटिडी विधिबाट पोजेटिभ देखिएको र पोजेटिभ देखिएको भन्ने दुईखाले समाचारले भ्रम उत्पन्न गर्यो ।

प्रदेश १ मा पहिलो कोरोनाको शंकास्पद बिरामी फेला परेपछि मिडिया र नागरिकको चासो हुनु स्वभाविक हो । धेरै पत्रकारले त्यसको सथ्यतथ्य थाहा पाउन प्रयास गरे । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले पोजेटिभ भनेका आधारमा केही मिडियाले समाचार बनाए । र्यापिड परीक्षणमा संलग्न टोलीका स्वास्थ्यकर्मीले नेगेटिभ रिपोर्ट आएको भनेर दिएको प्रतिक्रियाका आधारमा फेरी केही मिडियाले पोजेटिभको हल्ला गलत भएको समाचार प्रकाशन प्रसारण गरे ।

जिल्ला स्वास्थ्य झापाका फोकल पर्सन जीवन चम्लागाईले पोजेटिभे हुँदै होइन, समाचार कसरी बन्यो ? भन्दै प्रतिप्रश्न गरे । टोलीमा संलग्न कोशी अञ्चल अस्पताल कोभिड उपचार केन्द्रका विज्ञले पनि पोजेटिभ नभेटिएको प्रतिक्रिया दिएपछि मिडियामा दुई प्रकृतिका समाचार सार्वजनिक भएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीको सूचनालाई आधारमान्ने मिडियाले आरटिडी विधिबाट गरिएको परीक्षणमा दुबइबाट आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको भन्ने आयो भने स्वास्थ्य कर्मचारी र फोकल पर्सनको भर पर्ने मिडियाले कोरोना हल्ला मात्र भएको भन्ने समाचार लेख्नु पर्ने अवस्था आयो ।

समाचारका दृष्टिकोणमा स्वास्थ्यकर्मीले दिएको जानकारी आधिकाररिक हो । तर, जनप्रतिनिधि र कर्मचारी जस्तो जिम्मेवार व्यक्तिले दिएको सूचना अनधिकृत पनि हुन सक्तैन । स्वास्थ्कर्मीले प्रारम्भिक रिपोर्ट नै नेगेटिभ भएको दावी गर्नु आफैमा गलत र सूचना लुकाउने काम हो । यसले नागरिकमा भ्रम उत्पन्न गरेको छ ।

सूचना संकलन र प्रवाह गर्ने जिम्मेवारी तोकिएका कर्मचारीले सूचनाको बास्तविक अवस्था जे हो त्यही भन्ने हो । झुठ्ठा र भ्रमपूर्ण सूचना मिडियालाई दिने अधिकार कसैलाई हुँदैन । सूचना लुकाएर मिडियालाई आलोचित र बद्नाम बनाउने काम स्वास्थ्यकर्मीले गर्न मिल्दैन ।

कर्मचारीको गलत सूचनाले नागरिकबाट मिडिया र पत्रकार आलोचित भए । नागरिकले मिडियालाई अनेक उपमा दिएर सोसल मिडियाबाट गाली र आलोचना गरे । गल्ती कर्मचारीले गर्ने, त्यसको भारी मिडियाले लिनु पर्ने अवस्था आयो । भ्रमपूर्ण सूचनाले नागरिकले आलोचना मात्र गर्दैनन्, पत्रकार र सञ्चारमाध्यम बीचनै तिक्तताको ल्याउने अवस्था हुन्छ ।

आरटिडी विधिबाट आएको रिपोर्ट सत्य नहुन सक्छ भन्ने दुनियाँलाई थाहा छ । यो विधिबाट तत्काल प्रारम्भिक रिपोर्ट आउँछ । त्यस्ता व्यक्तिको नाम, थर, ठेगना सार्वजनिक हुँदैन । यस्तो अवस्थामा सत्य सूचना नदिएर मिडियालाई बद्नाम बनाउन अधिकार कुनै कर्मचारीलाई हुन सक्तैन । कोरोनाको महामारीमा स्वास्थ्यकर्मी अग्रभागमा छन् भने प्रहरी दोस्रो लहरमा छन् । पत्रकार तेस्रो लहरमा छन् ।

जोखिम मोलेर सूचना प्रवाहमा सक्रिय पत्रकारलाई सत्य सूचना उपलब्ध गराउनु कर्मचारी वा जिम्मेवार व्यक्तिको दायित्व हो । सूचना लुकाउनु भनेको जनतालाई सूचनाबाट बिमुख बनाउनु हो । कसैलाई पोजेटिभ भएको रहेछ र सूचना अरुले थाहा पाएनन् भने सयौँलाई संक्रमण हुन सक्छ । संक्रमित भएको व्यक्तिको परिचय नखुल्ने गरी दिइएको ठेगनाले त्यस ठाउँका नागरिक सजग हुन पाउँछन् । सूचनामा हुने यस्ता लापरवाहीलाई स्वास्थ्य कार्यालय र प्रशासनले समयमै सच्याउनु राम्रो हन्छ ।

प्रतिक्रिया दिनुहोस्