Logo

उदयपुर कोरोना संक्रमणको ‘इपिसेन्टर’ !

एकैदिन ११ जना थपिए, संक्रमितको संख्या २४ पुग्यो



उदयपुर, ९ वैसाख । उदयपुरमा मंगलबार एकै दिन ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या उदयपुरमा २४ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

नेपालकै लागि कोरोना संक्रमणको इपिसेन्टर बनेपछि स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम गाईघाट दुई किलोमिटर दीक्षणमा रहेको मस्जित र आसपासको गाउँमा संक्रमित देखिएपछि उदयपुरको जनजीवन त्रस्त बनेको हो ।

सुनसान सदरमुकाम गाईघाट

त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

भुल्केको मस्जिद

मंगलबार पुष्टी भएका संक्रमितहरूमा ९ जना पुरुष र २ जना महिला छन् । यसअघि बैशाख ५ गते सोही ठाउँका १२ जना कोरोना रहेको पुष्टि भएको थियो । भोलीपल्ट ६ गते ६५ बर्षिय थप एक जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो ।

कोरोना पुष्टिपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।

मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली नागरिकको स्वाब परिक्षण गर्दा १३ जना संक्रमित पुष्टि भएको हो । त्यसमध्ये ११ जना भारतीय र २ जना नेपालीमा कोरोना देखिएको थियो । थपिएका ११ जना सबै नेपाली मुस्लिम हुन् ।

प्रदेशबाट संकलन गरिएका ६९ जना मध्ये ८ जनामा बिराटनगरस्थित कोसी अञ्चल अस्पतालले पोजेटिभ देखिएपछि थप पुष्टिका लागि मंगलबार धरान पठाइएको थियो । बिराटनगरले गरेको स्वाब परीक्षणमा पोजेटिभ आए आधिकारिकताका लागि धरानले पुर्नपरीक्षण गर्ने प्रावधान छ ।

सोहीअनुरुप सामाजिक बिकास मन्त्रालयले शंकास्पद ८ जनालाई नै धरान पठाउन पत्राचार गरेपछि स्वास्थ्य कार्यालयले आठै जनालाई एम्बुलेन्सबाट पठाइएको थियो । सेनाले नमुना संकलन गरेको २ सय ५१ जनालाई आईतबार र सोमबार दुई दिन लगाएर नमुना संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्