Logo

ओली प्रवृत्तिलाई इतिहासबाट विदा गरौं !



पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक ढंगले प्रतिक्रिया दिएका छन् । पार्टी विभाजनका लागि सामाजवादी पार्टीका सांसद डा सूरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा अपहरण गरिएको आरोप लगाए । आज पनि डा भट्टराईले प्रधानमन्त्री ओलीलाई अनेक उपमा लगाएका छन् । हेरौँ डा भट्टराईको फेसबुक स्टाटस प्रतिक्रियाः

यो भष्मासुर प्रवृत्ति होः हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ १ तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् !

ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ !

यो हिटलर प्रवृत्ति होः जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततः दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति र समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।

यो स्टालिन प्रवृत्ति होः रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति (मुख्यतः कृषि क्षेत्रमा) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए ।

नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि(प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

यो चाउचेस्कु प्रवृत्ति होः पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता, आफन्तरआसेपासेवाद, मनपरीतन्त्र गर्थे र पार्टी नेतारकार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्ततः जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो !

नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण र ओम्नी प्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार, राष्ट्रपति र प्रधानमन्त्रीको फजुल खर्च र विलासी शैली रढाँटबाँट, आसेपासेको बाक्लो घेरारउदण्ड शैली, मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन र एनजीओ र आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता, आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ !

अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभइरस भन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !

प्रतिक्रिया दिनुहोस्