Logo

शान्तिनगरका कृषकको पीडाः बारीमै कुहिन थालेपछि टमाटर गाईलाई !



झापा, १५ बैशाख । झापाको पूर्वोत्तरमा बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर क्षेत्रका कृषकले लगाएको टमाटर बारीमै कुहिन थालेपछि गाईलाई खुवाउन थालेका छन् ।

बुद्धशान्ती गाउँपालिका तरकारी तथा सुपारी खेतीमा प्रसिद्ध छ । तर, नगदेबाली मानिएको शान्तिनगरको तरकारी बिक्री नभएपछि बारीमा कुहिन थालेको हो ।

सरकारले चैत ११ गतेबाट कोरोना संक्रमण नियन्त्रण गर्न गरेको लकडाउनले शान्तिनगरका कृषकले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी बिक्री हुन छाडेको छ । वडा नम्बर ५ र ६ का कृषक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । तर, बारीमा लटरम्म फलेका टमाटर बिक्री नहुँदा कृषक चिन्तामा छन् । उनीहरुले उत्पादन गरेको टमाटर बारीमा कुहिन थालेपछि गाईलाई खुवाउन बाध्य भएका हुन् ।

बुद्धशान्ति गाउँपालिका ६ का प्रेमसागर चापागाईंले १५ कठ्ठामा टमाटर लगाएका छन् । उनले टमाटर पाक्न थालेपछी सुरु भएको लकडाउनले टमाटर बिक्री नहुँदा समस्या भएको बताए । उनले टमाटर बिक्री हुन छाडेपछि गार्इलाई खुवाउन थालेको बताए । उनले भने, ‘लकडाउनले गर्दा बजार पठाउन पाइएन, टमाटर पाकेर बारीमा कुहिन थाल्यो, छिमेकलाई बाँडौ भने सबैको बारीमा पाकेर उस्तै छ, उपाय नभएर गाईलाइ खुवाएको हो ।’

लकडाउनले किसानलाइ ठूलो नोक्सान गरेको उनले बताए । आम्दानी हुने बेलामा लकडाउन भएपछि सबै लगानी र परिश्रम डुबेको बताए । उनले दुखेसो पोख्दै भने, ‘अढाइ तीन लाख लगानी गरियो, जम्माजम्मी अढाइ तीन सय आम्दानी ।’

बुद्धशान्ती ६ कै गंगाप्रसाद ढुङ्गेलको समस्या पनि उस्तै छ । बारीमा टमाटर पाकेको छ तर बिक्री हुँदैन । उनी पनि बस्तुलाई नै खुवाउन बाध्य छन । उत्पादित टमाटर बिक्री गर्न नभएपछि दोस्रो लटको टमाटरको बिरुवालाई सिहार गर्न जागर मरेको बताउँछन् बुद्धशान्ती ६ का अर्का कृषक राजेन्द्र भट्टराई ।

लकडाउन कति समय लम्बिने टुङो नभएपछी दोस्रो लटको उत्पादनपनि बिक्री नहुने हो कि भन्ने डरले बिरुवको सिहार गर्न अलमलमा परेको भट्टराईले बताए । पहिलो लटको त लगानी डुब्यो, दोस्रो लटको पनि लगानी डुब्ने हि कि भन्ने चिन्ता छ, उनले भने, ‘गरौँ त लगानी नै डुब्ने डर, नगरौँ त कलकलाउँदो बिरुवालाई लथालिङ्ग कसरी छोड्नु’ ?

स्थानीय सरकारले विपन्नलाई राहत दिएपनि उत्पादन बिक्री गर्न नपाएका कृषकलाई राहतको कुनै प्रवन्ध नगरिएकोमा कृषकले गुनासो गरेका छन् । बुद्धशान्तिका तरकारी कृषक केशव पुलामीले सरकारले कृषकलाई पनि राहत दिनु पर्ने बताए । उनले भने, ‘सरकारले कि कृषकको तरकारी बिक्री गर्ने प्रवन्ध गर्नु पर्यो, होइन भने राहत दिनु पर्यो ।’

शान्तिनगरमा धान खेत मासेर कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अन्नबाली जस्तो तरकारी धेरै दिन राख्न नमिल्ने, चाडै खपत गरिहाल्नु पर्ने भएकाले लकडाउनमा कृषकले नोक्सानी व्यहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्