Logo

पानीट्याङ्की नाकामा अलपत्र नेपालीलाई आइतवारबाट ल्याइने



झापा, ३ जेठ । भारतीय सीमा क्षेत्र पानीट्याङ्कीमा रोकिएका नेपालीलाई आइतवारबाट नेपाल ल्याउने तयारी भएको छ । जिल्ला कोरोना रोकथाम समिति झापाको आज जिल्ला समन्वय समितिको सभाकक्षमा भएको बैठकले सीमामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गराउने निर्णय गरेको हो ।

१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्की र समाजिक बिकास राज्यमन्त्री जसमायाँ गजमेरसहितको बैठकले आइतवारबाट नेपाली ल्याउने निर्णय गरेको हो ।

बैठकमा प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, उद्योगी, रेडक्रस लगायतको सहभागीतामा जिल्ला कोरोना रोकथाम समितिको बैठकले नेपालीको उद्दार लगायतका निर्णय गरेको छ । सीमामा भएका सबै नेपालीलाई एकै पटक नभएर क्रमशः नेपाल प्रवेश गराइने भएको छ ।

मेची नाका काँकरभिटबाट उद्दार हुने नेपालीको लगत संकलन र स्वास्थ्य परीक्षणपछि होल्डिङ एरियामा राखिने भएको छ । होल्डिङ एरियाको रुपमा मेचीनगर नगरपालिकाले तयार गरेका स्थान, भद्रपुरको मेची बहुमुखी क्याम्पस, कलबलगुरी लगायत स्थानीय पालिकाका क्वारेन्टाइनलाई प्रयोग गरिने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पार्तेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्