Logo

‘डिएसपीसाप’ पत्रकार कुटपिट गर्दै गरेको भिडियो छ त ! पक्राउ किन नगर्ने ?



झापा, २२ मंसिर । इलाका प्रहरी कार्यालय दमकले पत्रकार खगेन्द्र घिमिरे र भास्कर श्रेष्ठलाई कुटपिट गर्ने मालपोत कार्यालय दमकका कर्मचारी इन्द्र राजवंशीलाई पक्राउ गरेपनि कुटपिटमा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैन ।

शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार राजवंशीलाई यही मंसिर १६ गते दश हजार रुपैयाँ घुस दिँदै गरेको भिडियो खिचिरहेको अवस्थामा पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठलाई राजवंशी र लेखनदासको समूहले लछारपछार गर्दै कपिट कुटपिट गरेको थियो ।

कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पत्रकार घिमिरे, श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरिएको भिडियो सार्वजनिक भएपनि दोसीलाई पक्राउ नगरेकोमा नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति प्रकट गरेको छ ।

पत्रकार घिमिरे, श्रेष्ठ र सेवाग्राही साहले घटना भएकै दिन जाहेरी दिएपनि इलाका प्रहरी कार्यालय दमकले दुई दिन पछि मात्र जाहेरी दर्ता गरेको थियो । नेपाल पत्रकार महासंघ लगायतका पत्रकारका संघ संगठनले पटक पटक दबाब दिएपछि मात्र प्रहरीले कर्मचारी राजवंशी पक्राउ गरेको हो ।

इप्रका दमकका डिएसपी विजयराज पण्डितले कुटपितमा संलग्न दोसीलाई पक्राउ गर्न सुरुदेखिनै आनाकानी गर्दै आएका थिए । प्रहरीले राजवंशीलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ भने कुटपिटमा संलग्न अन्य व्यक्तिलाई पक्राउ गर्न कुनै चासो देखाएको छैन ।

डिएसपी पण्डितले भिडियोमा देखिएअनुसार कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएपनि पक्राउ नगर्नु सहस्यको विषय बनेको छ । पत्रकारले खिचेको र मालपोत कार्यालयको सीसी क्यामेराले खिचेको भिडियोमा कुटपिट गर्ने व्यक्तिको पहिचान भएपनि प्रहरीले पक्राउ नगर्नुको कारण पत्रकार महासंघले सोधेपनि डिएसपी पण्डितले प्रस्ट जवाफ दिएका छैनन ।

कार्यालय प्रमुखको कार्यकक्षमा भएको भिडियोका आधारमा थप कारबाही प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने चेतावनी नेपाल पत्रकार महासंघ झापा शाखाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्