Logo

लेनिन जयन्ती र नेकपाको विसर्जन !



रुसी समाजवादी क्रानितका नेतृत्वकर्ता भि. आई. लेनिनको आज जन्मजयन्ती हो । लेनिनको जन्मजगन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । विक्रम सम्वत् २००६ सालको अफ्रिल २२ तारिकका दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो् । पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी भित्रको टुटफूट र विभाजनको श्रृंखला खोकिएको छैन । उत्तराधिकार ठान्ने पार्टीले दुई तिहाईको सरकार गठन गरेपनि जनताका आधारभूत आवश्यक्ता पूरा हुन सकेका छैनन् ।

नेकपा एमाले र नेकपा माओवादीबीचको एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाँईमा पुर्याएको थियो । तर, पार्टी एकता भएको दुई वर्ष बित्न नपाउँदै विभाजनको श्रृंखला सुरु भएको छ । एकीकृत भएको नेकपा एमाले र माओवादी पुनः विभाजित भएका छन् । एमाले भित्र अध्यक्ष केपी ओली र माधव नेपाल समूह सक्रय छन् । प्रचण्डले माओवादी धारको नेतृत्व गरेका छन् । विभाजनले नेपाली जनतामा निराशा छाएको छ । यद्धपि, लेनिन जयन्तीका दिन एमाले भित्रबाट विभाजन रोक्न वार्ता र सम्वादको थालनी भएको छ । यो सकारात्मक कदम भएपनि एकीकृत कम्युनिष्ट आन्दोलनका लागि पर्यापत छैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा अक्टोबर क्रान्ति, लेनिन जयन्ती र नेकपाको स्थापना दिवशको खास महत्व रहँदै आएको छ । तर, आज लेनिन जयन्तीकै दिन नेपालको कम्युनिष्ट आन्दोलन विसर्जनको डिलमा पुगेको छ । टुट, फूट र विभाजनले संघारमा पुगेको नेपालको कम्युष्टि आन्दोलनमा लेनिन जयन्ती र पार्टी स्थापना दिवसको चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

लेनिनको नेतृत्वमा रुसी क्रान्ति
नेतृत्वमा रुसमा प्रयोग भएको समाजवादी क्रान्तिले सय वर्ष नाघेको छ । अक्टोबर क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो । लेनिनको नेतृत्वमा स्थापना भएको रुसी समाजवादी क्रान्तिले संसार हल्लाएको थियो । सोभियत संघ बिघटन भएको ३० वर्ष नाघिसकेको छ ।

सोभियत समाजवादी व्यवस्था आज इतिहास बनिसकेको छ । यद्धपी रुसी क्रान्ति र सोभियत समाजवादी व्यवस्थाको महत्व र उपदायता आजपनि त्यत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । कार्ल माक्र्सको सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वसहितको राज्य स्थापना गर्न सकिने विचारको व्यवहारिक प्रयोग थियो रुसी अक्टोबर क्रान्ति ।

सन् १८७१ मा भएको पेरिस कम्युनको असफलता नै रुसी क्रान्तिको मुख्य आधार थियो । कार्ल माक्र्सको जीवनकालमा श्रमजीवी सर्वहारा वर्गले स्थापना गरेको पेरिस कम्युन प्रतिक्रियावादी सड्यन्त्रबाट ७२ दिनमै असफल भएको थियो । पेरिस कम्युन भिन्न सशक्त र सेना सहितको रुसी बोल्सेभिकहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भएको थिायो ।

श्रमजीवी वर्ग निर्णायक शक्ति रहेको रुसी क्रान्तिमा किसान वर्ग क्रान्तिको शक्तिशाली सहयोगी शक्ति थियो । सन् १९०५ मा भएको बिद्रोह असफल भएपनि सन् १९१४ बाट सुरु भएको पहिलो विश्व युद्ध सँगै क्रान्तिका आधार खडा भएको थियो । लेनिनले विश्व युद्ध साम्राज्यवादीहरुबीचको लडाई भएकाले त्यसमा संलग्न नहुन आह्वान गरेका थिए । र, तर आन्तरिक क्रान्तिका लागि आधार तयार हुँदै गएको थियो ।

सन् १०१७ फेब्रेवरीमा पुँजिवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न भएसँगै जार शाहीको अन्त्य गरेको थियो । तर, त्यस क्रान्तिले पुँजिवादी र साम्राज्यवादीका जरा नउखेलिने भन्दै क्रान्तिकारीहरुले त्यसको बिरोध गरे । फलस्वरुप सन् १९१७ अक्टोबर २५ तारिखमा लेनिनको नेतृत्वमा रुसी क्रान्ति सम्पन्न भएको हो ।

रुसी क्रान्तिले क्रान्तिको नयाँ स्वरुप निर्माण गरेको थियो । क्रान्तिका लागि नयाँ चेतनाको सञ्चार गरेको थियो । उत्पादनका साधान पहिलो पटक श्रमजीवी सर्वहारा वर्गको हातमा राखिदिएको थियो ।

साम्राज्यवाद विरोधी क्रान्ति
अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा नयाँ युगको सुरुवात थियो । रुसी क्रािन्तले विश्व सर्वहारा क्रान्तिको मार्ग खोलिदियो । रुसी क्रान्तिको सफलताले अन्य कयौ देशका क्रान्तिकारीले समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । यो समाजवाद स्थापना गर्ने क्रान्ति मात्र थिएन यो साम्राज्यवाद बिरोधी क्रान्ति पनि थियो । रुसी क्रान्ति पछि संसार भरका न्यायप्रेमी र मुक्तिगामी समुदायले उपनिवेश र साम्राज्यवादको बिरोध गरे । ती उपनिवेश र साम्राज्यवादको जाँतोमा पिल्सिएका देशले स्वतन्त्रता प्राप्त गरे । रुसी क्रान्तिले समाजवादी क्रान्ति मात्र होइन, पुँजिवादी जनवादी क्रान्तिको बिगुल पुक्यो । पुँजिवादी मौलिक र प्रजातान्त्रिक अधिकारका क्रान्ति सम्पन्न भए ।

रुसी क्रान्ति पछि स्थापित सोभियत संघले विश्व साम्राज्यवादले टक्कर दियो । साम्राज्यवाद र उपनिवेशवाद चलाईरहेका पुँजिवादी देशका लागि रुसी क्रान्ति र त्यसले दिएको सन्देश चनौती बन्यो । रुसी मोडलको आर्थिक, सामाजिक र राजनीतिक मोडल संसारका लागि अनुकरणीय बन्यो । शोषणरहित समाज निर्माणको आधार रुसी क्रान्तिले खडा गरेको थियो ।

लेनिनवादको विकास
रुसी क्रान्ति अर्थात अक्टोवर क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो भने लेनिनवादको प्रारम्भ थियो । लेनिनको साम्राज्यवाद सम्बन्धि विचार आजपनि त्यतिकै औचित्यपूर्ण छ । साम्राज्जवाद पुँजिवादको उच्चतम रुप हो भन्ने भनाई आजपनि सान्दर्भिक छ ।

लेनिनले प्रतिपादन गरेका संगठनात्कम सिद्धान्तलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ । यो सिद्धान्त संसारका कम्युनिष्ट पार्टीले मात्र होइन बुर्जुवा र पुँजिवादी पार्टीले पनि स्वीकारेका छन् ।
अल्पमत बहुमतको अधिनस्त, पार्टी सदस्य कमिटीको अधिनस्त, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्त, केन्द्रीय कमिटी महाधिवेशनको र महाधिवेशन पार्टी सदस्यको अधिनस्त हुने भन्ने लेनिनको विचार आज संसार भर प्रयोगमा छ ।

विचार र सिद्धान्त विहिन पार्टीले क्रान्ति गर्न सक्तैन । कम्युनिष्ट पार्टी विचारले लैस हुनु पर्छ । कम्युनिष्ट पार्टीका सदस्य सर्वहारा क्रान्तिमा सर्मपित हुँदा मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने विचार आज पनि त्यति कै सान्दर्भिक छ । कम्युनिष्ट पार्टीको सेना निर्माणको सवाल होस वा पार्टी नेता र कार्यकर्ता भूमीगत भएर क्रान्तिमा खेल्ने भूमीकाको अभ्यास लेनिनले पहिलो पटक प्रयोग गरे । जुन आज पनि निरंकुशता विरुद्ध, क्रान्तिका लागि प्रयोगमा आउने गरेको छ ।

सोभियत समाजवादको विघटन
माक्र्सले वर्ग रहेसम्म वर्गको अस्तित्व सहन्छ भनेका थिए । माक्र्सले साम्यवादी समाज मात्र वर्ग विहिन हुने बताएका थिए । लेनिनले यसमा सचेत थिए । तर, साम्राज्यवादसँगको लडाई विजय प्राप्तिसँग स्टालिनले सोभियत समाजवादमा वर्ग समाप्त भएको घोषणा गरे । यो नै सोभियत सत्तामा पुँजिवाद विचारको प्रवेश थियो ।

दोस्रो विश्व युद्धमा जर्मन पासिस्टलाई लखेटने क्रममा पूर्वी युरोपमा सर्वहारासत्ता कायम भएका थिए । र, उनीहरु राजनीतिक रुपमा सोभियत सत्तासँग भर पर्न थाले र सोभियत समाजवादको विघटनसँगै पूर्वी युरोपको सर्वहारा सत्ता विघटन भएको हो ।

‘वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद’ गठनले रुसी निर्भरता झन बढ्यो । मिखाईल गोर्भाचोभको कार्यकालमा सोभियत संघ आर्थिक संकटमा पर्यो र गोर्भाचोभले ‘वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद’ विघटन गरिदिए । जसले पूर्वी युरोपका साशकलाई गम्भीर धक्का दियो ।

सोभियत संघको छातामुनी रहेका पूर्वी युरोपका शासक पार्टीहरु खुस्चेभको संशोधनवादी लाइनको पछि लागे र अन्त्यमा गोर्भाचोभको कथित सूधारवादी कार्यक्रमसँगै बगे । सोभियत सत्ताले समाजको आवश्यक्त महसुस गरेपनि व्यक्तिका आवश्यक्ता, उसका इच्छा र मनोविज्ञान बुझने प्रयास गरेन, जुन सोभियत संघ विघटनको एक कारण बन्यो ।

नेपालमा अक्टोवर क्रान्तिको प्रभाव
रुसमा सम्पन्न अक्टोवर क्रान्तिको प्रभाव संसारभर गहिरो प्रभाव परेको थियो । रुसी समाजवादी व्यवस्थाको स्थापनासँगै संसारभर कम्युनिष्ट पार्टी स्थापना गर्ने क्रम बढ्यो । चीन, भारत, फिलिपिन्स, पेरु, भियतनाम लगायतका देशमा कम्युनिष्ट पार्टी स्थापना भए । दोस्रो विश्व युद्धसँगै चीनमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पनि रुसी क्रान्ति र चिनियाँ क्रन्तिको प्रभाव परेको थियो ।

कम्युनिष्ट पाठ्य सामग्री नेपालीमा प्रकाशन गर्ने सोभियत संघले गरेको सहयोगले नेपालमा कम्युनिष्ट कार्यकर्ता उत्पादनमा ठूलो सहयोग गरेको थियो । रुसी क्रान्तिमा मजदुर निर्णायक शक्ति र कृषक सहयोगी शक्ति बने भने चीनमा कृषक निर्णायक शक्ति र मजदुर सहयोगी शक्ति बने । रुसी क्रान्ति शहरमा सम्पन्न भएको थियो भने चिनियाँ क्रान्ति ग्रामिण इलाका हुँदै शहर घेर्ने योजनाबाट सम्पन्न भएको थियो ।

नेपालमा २००७ सालमा भएको जनक्रान्ति राजनीतिक अधिकार प्राप्तिका लागि पुँजिवादी प्रजातान्त्रिक क्रान्ति थियो । २०४६ सालमा कम्युनिष्टहरुको संलग्नतामा सम्पन्न आन्दोलनले पनि २००७ सालकै राजनीतिक चरित्र बोकेको थियो । यसमा मध्यम वर्ग, शहरीया वुद्धिजीवीको बाहुल्यता थियो । यो मूलतः शहर केन्द्रित आन्दोलन थियो ।

नेकपा माओवादीको नेतृत्वमा संचालित जनयुद्ध गा्रमिण इलाकाबाट सुरु भएको थियो । ७ साल र ४६ सालमा भएको भन्दा भिन्न चरित्र जनयुद्धले बोकेको थियो । गाउँका गरीव, किसान, श्रमिक, आदिवासी, जनजाति, उत्पीडन र सोशणमा परेका जाति र समुदायको जनयुद्धमा मुख्य संलग्नता थियो ।

पंचायत कालमा विकास भएको तत्कालीन नेकपा मालेले गाउँमा संगठन निर्माण गर्ने र शहरमा आन्दोलन गर्ने नीति बनायो भने माओवादीले गाउँमै संगठन र गाउँमै क्रान्तिको नीति लियो ।
नेपालमा २००७ साल, २०४६ साल, जनयुद्ध या दोस्रो जनआन्दोलन सबैमा रुसी क्रान्ति, चिनियाँ क्रान्तिको प्रभाव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्