Logo

सचिव हुँदा गरेको भ्रष्टाचारको पोल खेल्यो, अख्तियारले मुद्दा चलायो



काठमाडौँ, २८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेविरुद्ध मुद्दा दायर गरेको छ । घिमिरेले सचिव हुँदा सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइको तालिमका लागि लिएको पेश्की, दलित दलान निर्माणको बिलभन्दा बढी भुक्तानी गरेको देखिएकाले मुद्दा दर्ता गरेको हो । घिमिरेले विद्युत् पोल खरिदमा बिलबमोजिमको सामग्री प्राप्त नभई भुक्तानी गरेको, अर्को गाविसको समेत सामाजिक सुरक्षा भत्तासमेत दुरुपयोग गरेको पाइएको छ ।

स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा सबै जिम्मेवारी लिएका कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६९÷०७० र आव २०७०÷०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ ।

विवरणअनुसार सामाजिक सुरक्षा भत्ताको आव २०७२÷०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै बिल नराखी खरिद आदेश दिएको, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरूमा रु २४ लाख ९२ हजार ५१० हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार अन्य सामग्री खरिदमा रु दुई लाख ६७ हजार २६ र नक्कली बिल पेश गरी रु दुई लाख ६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यसैगरी साविक राजापुर गाविसका खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह विरुद्ध रु दुई लाख ६७ हजार २६, कल्याणपुर नगरपालिका सिरहाका अधिकृत (छैठौँ) शिवजी कामतीविरुद्ध रु दुई लाख ८१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले घिमिरे मात्रैले रु १९ लाख ८४ लाख ८७५, कामती विरुद्ध रु दुई लाख ८१ हजार बराबरको हिनामिना गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्