Logo

मौरी पालक कृषकलाई तालिम र घार हस्तान्तरण



बिर्तामोड, २९ फागुन । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका नौ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामग्री वितरण गरेको छ । वडा नम्बर १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीलाई प्रमाणपत्रसहित आधार चाका, धुवादानी, टोपी, व्रस, महदानीलगायतका सामग्री सहित मौरीका घार हस्तान्तरण गरेकी हुन् ।

नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानीमा मौरीसहितको घार वितरण गरिएको नगर कृषी शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापनाका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको हो । कार्यक्रममा उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यवसायिक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीलाई आग्रह गरिन् । तालिममा सिताराम ढकालले प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी विर्तामोड नगरपालिका वडा नम्बर ४ को सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा बिर्तामोड ४ का भवनदाता, समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३ का अमृतबहादुर बुढाथोकीलाई नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख शिवाकोटी, डा.रुपक खनाल, नैनकला भट्टराई, जयनारायण भट्टराई, शिरो सान्दाई खतिवडा, देवीभक्त श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्