Logo

आज २०७८ फागुन ३० गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने समय छ, नियमित खानपान र आरामप्रति सचेत हुनुहोला । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्न सक्छन् । आन्तरिक विषयमा गोपनीयता कायम राख्नु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहाद्र्रपूर्ण रहने देखिन्छ । नोकरचाकर र कामदारसँग उचित समन्वय गरी काममा आफैं खटेको जाति हुन्छ । समस्या र झञ्झटबाट टाढा जान सक्नुहुन्न, तर सानातिना समस्याले व्यापारिक कारोबारमा खासै प्रभाव पर्दैन ।  पारिवारिक जीवन सुखद रहनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, आज गुरुजन, विद्वान्, अनुभवी वा पण्डितहरूका साथमा घुलमिल गर्ने अवसर पाइने छ । किनमेलको योजना बनाउने समय हो, योजना बनाएर आर्थिक व्यवस्थापन गर्नु बुद्धिमानी हुनेछ । खर्चमात्र होइन वचत गर्ने सोच राख्नु राम्रो हुन्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाति हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । स्वास्थ्यमा प्रतिकूलता देखिने छ, साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । उधारोमा गएको धन वा ऋणकारोबार आजको मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि क्षेत्रको कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तालसाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा समेत मालसामान हराउने सङ्केत छ, त्यस्तै अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा सजग रहनु पर्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । आफ्नै गल्ती र कमजोरीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ, आर्थिक मन्दी हुने वा नोक्सानी भोग्ने समय हो, दण्ड वा जरिवानामा परिने सम्भावना पनि देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । सोच र बुद्धिको उपयोग गर्ने दिन हो । बौद्धिक र प्राविधिक क्षमताको विकास हुनेछ, केही सिक्नु छ भने प्रयास गर्नुहोस्, सफलता पाइने छ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कारोबार वा कार्यक्षेत्रको काममा यात्रामा जानुपर्ने परिस्थिति देखिन्छ, तर मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले चिन्ता बढाउन सक्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, ब्याज र बट्टाको काम, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन् दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ । मिहिनेत र लगनशीलता कायम राख्नसके भाग्यबृद्धि हुने र भविष्य सुध्रने सङ्केत छ । मिहिनेत र कर्मठताका कारण अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा आफ्नो प्रतिष्ठा कायम राख्ने राम्रो दिन देखिन्छ । परिवारमा कुनै अतिथिको आगमन हुनाले वा कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने प्रयास गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु ठीक हुन्छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनुपर्दा मन निराश बन्ने समय हो । भाग्यमा भन्दा पनि आफ्नै बुद्धि र श्रममा भरपर्ने समय हो, नचिताएको स्रोतबाट अचानक धनलाभ हुनसक्छ । उता प्रियजनसँग टाढा हुँदा मनमा खिन्नता भने हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धनबृद्धिको प्रयास र आन्तरिक सुखका मामिलामा जीवनसाथीको साथसहयोग प्राप्त हुनेछ । कुनै उपकरण वा मनोरञ्जनका सामाग्री खरिद गर्ने मनसाय बन्नसक्छ । त्यस्तै प्रियजनलाई उपहारसमेत दिन सकिने छ । रूपसौन्दर्य, साजसज्जा र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रूचि जाग्ने समय हो । खेलवाड र मनोरञ्जनमा अलमलिंदा अवसर गुम्ने खतरा छ । राम्रो रिजल्ट निकाल्न राम्ररी खट्नुपर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर विभिन्न चुनौती र सङ्घर्ष झेलेरमात्र सफलता मिल्ने दिन हो । खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । एकअर्काको मनोभाव बुझी काम गर्नसके आपसी सम्बन्धमा बढी प्रगाढता छाउने छ । आफ्ना असन्तुष्टि र निराशाका बारेमा खुलेर छलफल गर्नु राम्रो हुन्छ । कसैको चित्त दुखाएर कुनै पनि काम नगर्नु होला, अझ धन कमाउने सिलसिलामा जोखिम मोलेर काम गर्नुभयो भने ठूलो हानि बेहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्