Logo

नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो: प्रचण्ड



धनगढी, ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताएका छन् ।

धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा (एमाले)सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताए ।

उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकीर गरे । उनले भने, “विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।” लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रोपटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए । निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उनले पार्टीलाई एकढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताए । पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो उनले भने, “तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।”

प्रतिक्रिया दिनुहोस्