Logo

पिकअपको ठक्करबाट रौतहटमा दुई जनाको मृत्यु



रौतहट, ३ चैत । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चोकमा स्कार्पियो पिक अप गाडीको ठक्करबाट दुई जना युवकको मृत्यु भएको छ।

ठक्करबाट एक जना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा१७च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गए राती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिँदा दुई जना पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वृन्दावन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी, गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अन्सारी घाइते भएका छन् । असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र जवान अन्सारीको बिरगंजमा उपचार भइरहेको डिएसपी भण्डारीले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए।

ठक्कर दिने गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेका छन् । मृतकका आफन्तहरूले दुवै शव हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्