Logo

अफगानिस्तानमा १ सय ८० वटा मिडिया आउटलेट बन्द



सांकेतिक तस्बिर

काठमाडौँ, ३ चैत । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गएको सात महिनामा चार सय ७५ मध्ये एक सय ८० वटा मिडिया आउटलेट बन्द गरिएका छन् ।

गएको मङ्गलवार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ जसको परिणाम स्वरूप युद्धग्रस्त देशमा दुई सय ९० वटा मिडिया आउटलेट मात्र सक्रिय सञ्चालनमा छन् । झन्डै ६० प्रतिशत पत्रकार बेरोजगार छन् ।

अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापक रूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेसेवर मिडियाकर्मीहरूको पलायन भएको बताएका छन् ।

आर्थिक सङ्कट र अफगानिस्तानमा मिडियाको विदेशी समर्थनको रोक बाहेक अफगान पत्रकारहरूले उद्धृत जानकारीमा पहुँचको कमी हुनुलाई देशको मिडियाका लागि अर्को ठूलो समस्या भनिएको छ । अर्कोतर्फ अफगानिस्तानको इस्लामिक इमिरेट्सले यस्ता दाबीलाई अस्वीकार गर्दै आएको छ ।

उनीहरूले अफगानिस्तानमा मिडिया आउटलेटहरू बन्द हुनु भनेको उनीहरूका दाताहरूको अवरोधका कारण भएको बताएका छन् । उनीहरूले अफगान पत्रकार र मिडियालाई प्रतिबन्ध लगाएको अस्वीकार गरेको खामा प्रेसले रिपोर्ट गरेको छ ।

गएको वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था झन् बिग्रिएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्