Logo

अनुशासित बन्न थाल्यो फागु पूर्णिमा



काठमाडौँ, ३ चैत । केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।

सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमेकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रुपमा मनाइएको छ ।

केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले प्रशासनले शान्त रुपमा पर्व मनाउन आह्वान गरेको थियो ।

सडकमा फागु खेल्ने प्रायः बालबालिका, युवायुवती थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । गौशाला चोकमा फागु पर्व मनाइरहेका युवा सन्दीप सिंह चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने तर सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्दी रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन ।

प्रतिक्रिया दिनुहोस्