Logo

शेरबहादुरजी सूर्य चिन्हमा भोट हाल्नुस्: केपी ओली



काठमाडौँ, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो । तपाईं पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले देख्ने गरी ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरे । ‘शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उनलाई ४ हजार भत्ता के गर्न छँदै छ, त्यसकारण छन् । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,’

उनले भने, ‘हाम्रा विरुद्ध गठबन्धन बनाइएको छ, मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छोडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन,मैले केही वर्ष अघि भनेको थिएँ–स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन ।’

अध्यक्ष ओलीले स्थानीय तहको चुनावको असाधारण महत्त्व रहेको भन्दै उनले यो चुनाव एमालेले जित्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्