Logo

‘एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिनु हुँदैन’



काठमाडौँ, ८ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन् ।

वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक समस्या र विभाजनको औचित्य छैन। वैचारिक र सैद्धान्तिक रुपमा एउटै कुरा गरेर ३ वटा पार्टी किन चाहियोरु संसद विघटनको बिषयमा मतभेद भए पनि अहिले इतिहास भइसकेको छ ।’

एमालेले अझै संसद विघटन नै सहि थियो भन्यो भने संविधान भत्किन सुरु गर्ने उनको भनाइ छ।

‘पुष ५ को संसद विघटन राजनीतिक मुद्दा हो । त्यहाँ हामी विभाजित छौँ । अदालतले निर्णय गरिसकेको छ । संविधान रहेसम्म संसद् विघटन गर्न हुँदैनथ्यो भन्ने पुष्टि भइसक्यो । अदालतको त्यो निर्णय गलत छ भन्ने हो भनेर एमाले गयो भने संविधान भत्किन सुरु गर्छ’ उनले भने, ‘त्यसले अझै अस्थिरता ल्याउँछ। त्यसैले एमालेले अझै संसद विघटनको पक्षमा हिँड्नु हुँदैन। त्यो अहिले टुंगो लागिसक्यो,इतिहास भइसक्यो ।’

कम्युनिष्ट पार्टीको विभाजनले हालसम्मको उपलब्धिलाई रक्षा गर्ने नसकेको उनले बताए। कम्युनिष्ट पार्टीमा एमाले ठूलो भएकाले वाम एकताको पहल गर्नुपर्ने उनको भनाई छ।

नेता भुसालले भने, ‘एमाले कम्युनिष्ट पार्टीको मुल प्रवाह हो । त्यसैले एमालेले वाम एकताको प्रतिनिधित्व गर्नुपर्छ । स्थानीय तहको चुनाव वामहरुको पक्षमा ल्याउनका लागि एक हुनुपर्छ । वाम एक ठाउँ उभिँदा हुने र तीनतिर हुनुमा आउने मतमा धेरै फरक पर्छ ।’

प्रतिक्रिया दिनुहोस्