Logo

‘एमसीसी विशुद्ध विकास परियोजना हो’



 

जनकपुरधाम, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट(एमसीसी)पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको भनाइ छ ।

पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमसीसीबारे आफ्ना नेता/कार्यकर्तालाई व्रिफिङ गरेका छन् । त्यस क्रममा उनले विकासको काम गर्न अरुतिर ऋण लिँदा चर्को व्याज तिर्नुपरिरहेको र यो परियोजनाबाट आउने रकम अनुदान भएकाले फिर्ता गर्नु नपर्ने बताए ।

‘यो परियोजना अन्तर्गत विद्युत लाइन र सडकको काम हुन्छ’ उनले भने, ‘५ बर्षभित्र ट्रान्समिसन लाइन र सडकको काम पूरा हुन्छ । यो देशको हितमा भएकाले हामीले समर्थन गरेका हौं ।’

केही व्यक्तिले अफवाह फैलाएजस्तो एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको उल्लेख गर्दै ठाकुरले यो परियोजनासँग सैनिक संगठनबारे कुनै सम्बन्ध नभएको बताए ।

यो परियोजनामा नेपालकै इन्जिनियर, प्रशासन र कामदारले काम गर्ने भन्दै उनले यो परियोजना नेपालकै कब्जामा रहेर काम गर्ने बताए । ‘नेपाललाई बेचिदियो भनेर कतिपयले भनिरहेका छन्’ नेता ठाकुरले भने, ‘तर सबै प्रधानमन्त्रीले यसलाई समर्थन गरेका छन् । सबैको कार्यकालमा एमसीसीबारे केही न केही काम भएको छ । त्यसैले त विरोध गर्नेहरुले पनि यसलाई स्वीकारेका छन् ।’

प्रतिक्रिया दिनुहोस्