Logo

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ: अध्यक्ष प्रचण्ड



चितवन , १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए । आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो । गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । माडी उनको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताए ।

सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उहाँले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका एि । गत वर्ष उनले सो सडकको शिलान्यास गरेका थिए ।

सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिउ । दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर दाहाल दिउँसो भरतपुर फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्