Logo

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सुरु



काठमाडौँ, १० चैत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ ठाउँमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा सञ्चालन गरिने आयोगले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलले आयोगमा पठाएका विवरणहरूको रुजु गर्ने काम गरिरहेको बताए ।

उनले मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्