Logo

मतदाताको अन्तिम नामावली प्रकाशनको तयारी



काठमाडौँ, १३ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन-२०७९ का लागि आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ ।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन् । दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । निर्वाचन आयोगले गएको फागुन १९ गतेदेखि एक हप्ताको म्याद राखेर मतदाता नामावली अद्यावधिक गर्न र त्रुटि भएमा सच्याउन भनेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका नामावली हटाइएको छ । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता थिए । गएको मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा झन्डै १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।

आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम भएका १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्