Logo

वनमा लागेको डढेलोको कारण प्रदूषण



फाइल तस्बिर

सर्लाही, १४ चैत । वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढेको छ ।

केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार लागेको डढेलोले प्रदूषण बढाएको हो । वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धुवाँको मुस्लोले धेरैजसो ठाउँ ढाकेको छ ।

पिरो धुवाँ र खरानीको धुलोको कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । तीन हप्तादेखि लगातार लागेको डढेलोले मध्ये तराईमा पर्ने चारकोसे झाडीको राष्ट्रिय वन, साझेदारी वन, चक्कला वनका धेरैजसो क्षेत्र सखाप भएको छ ।

दिनभरि वनमा लागेको डढेलोको धुवाँले जङ्गल छेउको बस्ती ढाक्ने गरेको छ । सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे जङ्गलमा लगातार तीन हप्तादेखि ठूलो डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणका लागि पूर्व तयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु, जैविक विविधता माथि नराम्रो असर पर्ने गरेको विज्ञको भनाइ छ ।

डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय र त्यस मातहत रहेका सबडिभिजन वन कार्यालयले खासै भूमिका निर्वाह गर्न नसक्दा वन जङ्गलमा बर्सेनि डढेलो लाग्ने गरेको छ ।

डढेलो नियन्त्रणका लागि विज्ञसहितको पूर्व तयारी, सावधानी र नागरिकमा चेतना नहुँदा प्रत्येक वर्ष यसरी नै सामुदायिक वन, साझेदारी वन, कबुलियत वनमा डढेलो लाग्ने गरेको सर्लाहीका सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्