Logo

जोर–बिजोर लागू गरौँ, आइतबार पनि बिदा दिऔँ: आयल निगम



काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले यस्तो प्रस्ताव गरेको हो ।
बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमको सुझाब छ ।

योसँगै निगमले अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको तर्क छ ।

यसैबीच निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन सरकारसँग माग गरेको ।

इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाइएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । पछिल्लो समयमा निगमको घाटा चुलिँदै गएपछि निगमले सरकारसँग यस्तो प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्