Logo

पत्रकारको नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु: स्वास्थ्यमन्त्री



काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई नि:शुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए ।

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनले भने, “यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेकामा म चिन्तित छु, विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो, म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुआत होस् भन्ने चाहन्छु ।”

मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउँदै उनले सबै नेपालीलाई बीमाको दायरामा आउन अपिल गरे । महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले कोरोना महामारीको समयमा जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीको प्रसंशा गरे । महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस वितन्त्रतासँगै पत्रकारको पेशागत सुरक्षा र भौतिक सुरक्षा सुनिश्चित् गनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्