Logo

‘सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ’



काठमाडौँ, १६ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड-१९ को प्रभाव’ विषयक छलफलमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले लोकतन्त्र र प्रेस स्वतन्त्रता अभिन्न अङ्ग भएको बताए ।

उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न पत्रकारिता क्षेत्रबाट अझै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्त गर्न र हालै कोभिड-१९ को समयमा समग्र पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । नेपालको संविधानले नै संवैधानिक हकको रूपमा प्रेस तथा सूचनाको हकको प्रत्यभूति गरेको सन्दर्भमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मन्त्री कार्कीले नागरिक समक्ष सूचनाको हक, सूचना पहुँचको कार्यान्वयन तथा पत्रकारको हकका लागि विभिन्न नीतिगत, कानूनी र संस्थागत विकास गर्नका लागि सरकारले विभिन्न कार्यक्रमसमेत ल्याएको जानकारी दिए ।

ज्येष्ठ पत्रकारको जीवन यापनमा सहयोग पु¥याउने उद्देश्यले सरकारले रु पाँच करोड ३२ लाखको पत्रकार वृद्धि कोष स्थापना गरेको उनले बताए । मन्त्री कार्कीले भने, “त्यसबाट प्राप्त हुने ब्याज आम्दानीबाट ६५ वर्षभन्दा माथिका पत्रकारलाई वृद्धि कोष मापदण्ड स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ, सरकारले आमसञ्चारमाध्यम तथा पत्रकारमध्ये छ जनालाई प्रत्येक वर्ष जनही रु एक लाखको राष्ट्रिय पत्रकारिता पुरस्कारको व्यवस्था गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्