Logo

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन



काठमाडौँ, १९ चैत । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्एका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

आपूर्ति सचिव डा.गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका छन् । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।

उनका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए ।

डिलर्स एशोसिएशनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्