Logo

रेल जनकपुर आइपुग्दा स्थानीयवासी खुसी



धनुषा, १९ चैत । लामो समयको प्रतीक्षापछि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए ।

रेल जनकपुर आएसँगै स्थानीयवासी उत्साहित भएका छन् । रेल जनकपुर आउँदा स्टेशनमा रहेका सर्वसाधारणहरूले उत्साहित भएर स्वागत गरेका थिए ।

नयाँ दिल्लीमा रेल उद्घाटनको प्रत्यक्ष प्रसारण जनकपुर रेल्वे स्टेशनमा निर्माण गरिएको प्रोजेक्टरमा देखाइएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत सहभागी भएका थिए ।

अब यो रेल आइतवारदेखि नियमित सञ्चालन हुनेछ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दुरीमा रेल सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्