Logo

स्थानीय तहको निर्वाचन: एमाले घरदैलोमा, गठबन्धन छलफलमा



अर्घाखाँची, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा चुानावी सरगर्मी सुरु भएको छ । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा नेतृत्व हत्याउनका लागि राजनीतिक सक्रियता सुरु भएको हो । विवेकशील साझा पार्टीका जिल्ला संयोजक पशुपती पाण्डेले छत्रदेव गाउँपालिका प्रमुखमा उम्मेदवारी घोषणा नै गरेर घरदैलो सुरु गरेका छन् भने एमाले भोट माग्दै गाउँ पसेको छ । एमालेले उम्मेद्‌वारको नाम नलिइ आफ्नााे चुनाव चिह्नमा भोट माग्दै जिल्लाभर घरदैलो गरिरहेको छ । एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का, चेत्रनारायण आचार्य लगायतका नेताहरू फरक फरक टोली बनाएर एमाले घरदैलोमा लागेको छ ।

एमाले घरदैलोमा सक्रिय बनिरहँदा सत्ता गठबन्धन पक्षधर दलहरूको भने आक्रामक प्रचारप्रसार देखिएको छैन । जिल्लामा एमालेविरुद्ध एक भएर चुनावमा जाने सहमति गरेपछि गठबन्धन पक्षधर दलहरूको राजनीतिक गतिविधि कम देखिएको छ । यद्यपि, माओवादी केन्द्रले वडावडामा भेला, छलफल तथा कार्यालय उद्घाटन कार्यक्रम गरिरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, राष्टिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तिनै निर्वाचनमा एक भएर जाने सहमति गरे पनि बाँडफाँडको टुंगो नलाग्दा गठबन्धन पक्षधर राजनीतिक दल तीव्र चुनावी कार्यक्रम बाेकेर गाउँ पस्न सकेका छैनन् । तीनै तहकै निर्वाचनको लागि एकमुष्ठ रुपमा सिट बाँडफाँडको तयारीमा गठबन्धन पक्षधर राजनीतिक दलहरु सक्रिय रहेको बुझिएको छ ।

आफूहरु एक भएको अवस्थामा अर्घाखाँचीमा सबै स्थानीय तहसहित प्रदेश सभा र संघीय संसदसमेत जित्ने दाबी गठबन्धन पक्षधर दलका नेताहरूको छ । गत स्थानीय निर्वाचनमा एमाले एक्लैले जितेको मालारानी गाउँपालिकामा समेत आफूहरुले जित हात पार्ने गठबन्धनको विश्वास छ । गत स्थानीय निर्वाचनमा मालारानी गाउँपालिकामा एमालेका तर्फबाट बालकृष्ण आचार्यले कांग्रेस-माओवादी गठबन्धनलाई एक्लैले पराजित गरेका थिए । छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै जितेको थियो ।

त्यस्तै शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख जित्दा माओवादी केन्द्रले उपप्रमुखमा जितेको थियो भने भूमिकास्थानमा माओवादीले नगरप्रमुख जित्दा कांग्रेसले उपप्रमुख जितेको थियो । यी तिनै स्थानीय तहमा कांग्रेस माओवादीले चुनावी तालमेल गरेका थिए ।

भूमिकास्थानमा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख रेशम थापासहितको सम्पूर्ण टिम आफुहरुसँग रहेका कारण गठबन्धनका बाबजुत भूमिकास्थानमा आफुहरूले जित पार्ने एमालेको दावी छ । मालारानीमा विगतमा एक्लै जितेकोले यो पटक झन सहज हुने एमालेको विश्वास छ । त्यस्तै पाणिनीमा पनि माओवादीको ठूलो समूह प्रवेश गराएका कारण जित्ने दाउमा एमाले छ ।

तर, एमालेको यो दाबीलाई गठबन्धन स्वीकार्न तयार छैन । कांग्रेस एक्लैले जितेका दुई स्थानीय तह, कांग्रेस माओवादी तालमेलका कारण जितेका तीन तहमा सहज जित निस्कने गठबन्धनको दाबी छ । अझ विगतको चुनावमा एक्लै लडेको जनमोर्चाको समेत यो पटक साथ पाएको गठबन्धन जितको प्रतिक्षामा छ । मालारानीमा समेत एकीकृत समाजवादीको राम्रो प्रभाव रहेकोले विगतको एमालेको केही भोट आफूतिर आउने र सोही भोटको आधारमा अर्घाखाँचीका ६ वटै स्थानीय तह क्लिनस्वीप पार्ने दाउमा गठबन्धन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्