Logo

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा



काठमाडौँ, २२ चैत । चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक गोल गरे । सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७ औँ मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७ औँ मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३-० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औँ मिनेटमा एक गोल फर्काए । खेल सकिन नौ‌ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५-१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ । जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी)भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ । आरसीटी र सरस्वती ए डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्