Logo

प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई स्पष्टीकरण



काठमाडौँ, २२ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

पत्रकार तथा सञ्चारमाध्यमले सूचना सङ्कलन, सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्न विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायु सेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के-कति कारणले गर्नुपरेको हो? त्यहाँबाट पटकरपटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो?’

प्रतिक्रिया दिनुहोस्