Logo

झापाका २ लाख १५ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने



झापा, २३ चैत । सरकारले अभियानको रुपमा टाइफाइड बिरुद्धको खोप लगाउने भएको छ ।

आगामी चैत्र २५ गतेदेखि सञ्चालन हुने अभियानमा झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै नियमित खोप र टाइफाइड खोपका विषयमा जानकारी दिएको हो ।

झापामा १३ वटा पालिकामा आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म र शिवसताक्षी र गौरादह नगरपालिमा आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार देशभर एकै चरणमा चैत्र २५ देखि बैशाख १८ गते अभियान सम्पन्न हुने उनले बताए ।

स्वास्थ्य कार्यालय झापाले अभियानका लागि ६ सय ९० वटा खोप केन्द्रबाट झापाभरका २ लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने र उक्त अभियानका लागि २ सय २८ जना खोपकर्मी र ४ सय ५६ जना स्वयमसेवक तयारी अवस्थामा रहेको पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा अभियानका फोकल पर्सन बालकृष्ण भण्डारीले टाइफाइड रोग र बच्ने उपायको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्