Logo

च्याम्पियन्स लिग: रियालको शानदार जित



काठमाडौँ, २४ चैत । करिम बेन्जेमाले च्याम्पियन्स लिगमा लगातार दोस्रो पटक ह्याट्रिक गरेपछि रियाल मड्रिडले बुधबार राति क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि ३–१ को नतिजा निकालेको छ ।

चेल्सी भ्रमणमा रियालले २१औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेट वित्न नपाउँदै बेन्जेमाले अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा काई हाभार्टजको गोलबाट चेल्सीले पुनरागमनको प्रयास गरेको थियो । तर, दोस्रो हाफको सुरुमै बेन्जेमाले ह्याट्रिक गरेपछि चेल्सीलाई खेलमा फर्किन गाह्रो भएको थियो ।

‘‘बेन्जेमाको प्रदर्शन दिनप्रतिदिन सुधार हँुदै गएको छ,’’ बेन्जेको प्रदर्शनबारे रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘उनले आफूलाई यस टिमका लागि अझै महत्वपूर्ण रहेको सावित गरिदिएका छन् । उनको त्यही प्रदर्शनले टिमको नतिजामा फरक पारेको छ । उनको व्यक्तित्व उच्च छ । उनी अन्य धेरै खेलाडीका लागि उदाहरण हुन् ।’’

घरेलु मैदानमा पराजित भएसँगै चेल्सीको उपाधि रक्षा अभियानमा धक्का लागेको छ । चेल्सीले अब दोस्रो लेग रियालको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेल्नेछ । सोही मैदानमा रियालले अघिल्लो महिना पेरिस सेन्ट जर्मेन (पीएसजी)को यात्रामा पूर्णविराम लगाइदिएको थियो । पीएसजीविरुद्ध पनि बेन्जेमाले ह्याट्रिक गरेपछि रियालले ३–१ कै नतिजा निकालेको थियो ।

बेन्जेमाले जारी सिजन सबैखाले प्रतियोगितामा गरी ३६ खेलबाट ३७ गोल गरिसकेका छन् । ‘‘यो जादुगरी रात रह्यो,’’ बेन्जेमाले भने, ‘‘आज हामी जित्न र हामी रियाल मड्रिड हौं भनेर प्रमाणित गर्नका लागि यहाँ आएका थियौं । त्यसमा हामी सफल भयौं । सुरुदेखी अन्त्यसम्म हामीले राम्रो फुटबल खेल्यौं ।’’

रियालका प्रशिक्षक एन्सेलोट्टीले २०१० मा चेल्सीबाट प्रिमियर लिगको उपाधि जितेका थिए । चेल्सीको पराजयपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिगको बर्चश्व हुने अनुमान कमजोर बनेको छ । यसअघि प्रिमयर लिगका लिभरपुल र म्यानचेस्टर सिटीले क्वार्टरफाइनलको पहिलो लेग जितेका थिए । चेल्सी र रियालको विजयी टोलीले सिटी र एट्लेटिकोबीचको विजयी टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्