Logo

विल स्मिथलाई १० वर्ष प्रतिबन्ध



अमेरिका, २६ चैत । ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका थिए ।

तर स्मिथले गत साता नै ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । प्रतिबन्धको निर्णय सुनाउँदै एकेडेमी अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी डन हड्सनले भने, ‘ओस्कार समारोह फिल्म क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वले सेलिब्रेसन गर्ने अवसर समेत हो । तर उक्त अवसर निन्दनीय र अस्वीकार्य व्यवहारले छायामा पर्‍यो ।’

ओस्कार समितिको निर्णय लगत्तै विज्ञप्ति जारी गर्दै अभिनेता स्मिथले एकेडेमीको निर्णयलाई आफूले सम्मानसहित स्वीकार्ने बताएका छन् । यसअघि पनि स्मिथले रक, ओस्कार आयोजक र दर्शकप्रति उक्त घटनालाई लिएर माफी मागेका थिए ।

विश्वकै प्रतिष्ठित फिल्म अवार्डले स्मिथलाई आगामी १० वर्षसम्म कुनै पनि ओस्कार समारोहमा भौतिक र भर्चुअल रुपमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको जनाएको छ । तर यो समयभित्र अभिनेता स्मिथ ओस्कार अवार्डमा मनोनयन हुन्छन् वा हुँदैनन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्