Logo

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य



काठमाडौँ, २६ चैत । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।

तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने विभागमा महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा व्यक्तिगतरुपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्ने छ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका-२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्