Logo

स्पेनिस ला लिगा: रियाललाई १२ अंकको अग्रता



काठमाडौँ, २७ चैत । रियाल मड्रिडले शनिबार राति गेटाफेलाई २–० ले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा १२ अंकको अग्रता लिन सफल भएको छ ।

रियालले घरेलु मैदानमा कासेमिरोको गोबलाट ३८औं मिनेटमा अग्रता लिएको थियो । ६८औं मिनेटमा लुकास भाजक्वेजले रियालको अग्रता दोब्बर बनाएका थिए ।

रियालले बुधबार राती च्याम्पियन्स लिगमा पनि साविक विजेता चेल्सीमाथि ३–१ को विजय हासिल गरेको थियो । क्वार्टरफाइनलको पहिलो लेगमा दुई गोलको अग्रता लिएको थियो रियालले अब बुधबार राती चेल्सीलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्नेछ । त्यसपछि आगामी आइतबार राती रियालले सेभियाविरुद्ध खेल्नेछ ।

जितसँगै रियालले दोस्रो स्थानको सेभियालाई १२ अंकले पछाडि पारेको छ । रियालले ३१ खेलबाट ७२ अंक जोडेको छ भने समान खेल सेभियाले ६० अंक जोडेको छ । २९ खेलबाट ५७ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । पराजित गेटाफे भने ३२ अंकका साथ १४औं स्थानमा छ ।

सेभियाले ग्रानाडालाई ४–२ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको थियो । चौथो स्थानको एट्लेटिको मड्रिड भने रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको मायोर्कासँग १–० ले पराजित भयो । एट्लेटिको च्याम्पियन्स लिगमा पनि इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग १–० ले पराजित भएको थियो । एट्लेटिको अब बुधबार राती सिटीलाई घरमा बोलाउनेछ ।

ला लिगाको अन्य खेलमा भिल्लारियालले एथलेटिक बिल्बाओसँग १–१ को बराबरी खेल्यो । रियाल बेटिस ले कार्डिजलाई २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्